काठमाडौँ । गृहमन्त्री रमेश लेखकले छाउगोठ बनाउने र महिलालाई महिनावारीका बेला त्यहाँ बस्न बाध्य पार्ने व्यक्तिहरूलाई स्थानीय तहबाट प्राप्त सुविधामा पुनर्विचार गरिने चेतावनी दिएका छन् ।
बिहीबार अन्तर पार्टी महिला सञ्जालका पदाधिकारीहरूसँगको भेटमा गृहमन्त्री लेखकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सम्पूर्ण स्थानीय तहलाई यसबारे परिपत्र गर्न गृहकार्य भइरहेको जानकारी दिएका हुन् ।
उनले महिनावारीका क्रममा महिलालाई छाउगोठमा बस्न बाध्य पार्नेहरूलाई दिइने स्थानीय तहका सुविधा कटौती गर्ने गरी देशभरका स्थानीय तहलाई परिपत्र गरिने बताए ।
“महिनावारीमा अन्धविश्वासको गहिरो असर देखिन्छ,” मन्त्री लेखकले भने, “यसको निर्मूल गर्न अन्तर पार्टी महिला सञ्जालको सुझाव र सहयोग आवश्यक छ।”
मन्त्री लेखकले बलात्कार, हिंसा तथा महिलामाथि हुने अन्य प्रकारका अत्याचारहरूलाई राज्यले गम्भीरताका साथ लिएको स्पष्ट पारे। “महिलाको मर्यादा, स्वाभिमान र सुरक्षामा सरकार जिम्मेवार छ,” उनले भने, “अपराधीलाई कारबाहीको दायरामा ल्याउने काम भइरहेको छ।”
भेटमा सञ्जालकी अध्यक्ष ममता गिरीसहितको टोलीले महिला तथा बालबालिकामाथि हुने विभेद, हिंसा र त्यसको रोकथामका लागि प्रभावकारी कदम चाल्न माग गर्दै मन्त्री लेखकलाई ज्ञापनपत्र पनि बुझाएको थियो।