काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आफूबारे सार्वजनिक भएको अडियो आफू र मन्त्रालयसँग सम्बन्धित नभएको दाबी गरेका छन्।
मन्त्रालयको एकवर्षे उपलब्धि सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् । पोखराको जग्गासँग जोडिएर मन्त्री अधिकारी पनि विवादमा मुछिएका छन् ।
त्यसबारे स्पष्ट पार्दै उनले भनेका छन्–‘अहिलेसम्म यो अडियोमा आएका बोल्ने भाषा, व्यक्त गर्ने व्यक्तिहरू हामीसँग सम्बन्धित छैनन् । मेरो शब्द छ कि छैन, मैले कुनै कुरा गरेको छ कि छैन भन्ने कुरा अडियोबाट स्पष्ट हुनुहुन्छ ।’
उनले यसलाई चरित्रहत्या गर्ने प्रयास भएको पनि बताए । उनले भने–‘‘यो शुद्ध चरित्रहत्या गर्ने प्रयास हो । कुनै आफ्नो योजना पूरा गर्न खोजेका व्यक्तिले आफ्नो अभीष्ट पूरा गर्न मालपोत अधिकृतलाई फिर्ता गराउन आएका थिए । मैले हुन्नँ भनें । त्यसपछि यी कुराहरू बाहिर आए ।’
मन्त्री अधिकारीले पोखराको बाटुलेचौरस्थित १३४ रोपनी जग्गा ‘सेटिङ’ मिलाएर हडप्नका लागि ३२ लाख रुपैयाँ घुस बुझेको दाबी गरिएको दोस्रो अडिओ सार्वजनिक भएको छ।
सोही प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता मन्त्री गुप्ताले भने राजीनामा दिइसकेका छन् ।
उक्त अडियोमा एमाले नेता खेमबहादुर पुनलाई भूमि आयोग, कास्कीको अध्यक्ष नियुक्त गर्ने र मालपोत कार्यालय, कास्कीका प्रमुख रामचन्द्र अधिकारीको सरूवा रोक्ने भूमाफियाको योजनाअन्तर्गत भएको कुराकानी सुन्न सकिन्छ।
बिचौलिया भनेर चिनिएका सुजन लामामार्फत अधिकारीले मन्त्री क्वार्टरमै घुस रकम लिएको अडिओमा भनिएको छ।
एमाले केन्द्रीय सदस्य विष्णु रिजालले सामाजिक सञ्जालमै यसबारे प्रश्न उठाएका छन् । रिजालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भक्तपुरका प्रमुख कुमार आचार्य पक्राउ परेको विषयलाई जोड्दै मन्त्री अधिकारीमाथि प्रश्न उठाएका हुन्