काठमाडौं । एमालेको सक्रिय राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सत्ता साझोदार दल नेपाली कांग्रेसका नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ ।
आज बिहान करिब एक घण्टा भएको भेटवार्तामा देशको समसामयिक राजनीतिक परिस्थिति, सरकारको प्रभावकारिता र जनस्तरबाट उठिरहेको असन्तुष्टिको विषयमा कुराकानी भएको बताइएको छ ।
भेटका क्रममा दुई नेताबीचको केपी शर्मा ओली सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको, भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न नसकेको विषयमा कुराकानी भएको थियो ।
कोइरालाले बिहीबार मात्र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेटवार्ता गरेका थिए ।
[insert page='356937' display='yopanipadhnuhos.php']
भण्डारीलाई भेट्न कोइराला आज बिहान ९ बजे उनकै निवास पुगेका हुन्।
पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा प्रवेश गरेको विषयले एमालेभित्र हलचल पैदा भइरहेका बेला कोइरालासँगको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
पूर्वराष्ट्रपति भण्डारीले एमालेको सक्रिय राजनीतिमा फर्किएसँगै नेतृत्व नै पुग्ने लक्ष्य लिएको चर्चा भइरहेको बेला विहिबार प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनलाई नेतृत्व हस्तान्तरण गर्न नसकिने बताएका थिए ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमाले पार्टीमा फर्कन मिल्छ कि मिल्दैन भनेर पार्टीले निर्णय लिने बताएका उनले भण्डारीले पार्टी राजनीतिमा फर्कने विषयमा आफूसँग सल्लाह पनि नगरेको गुनासो गरेका थिए ।
[insert page='356937' display='yopanipadhnuhos.php']
ओलीले भनेका थिए–‘अहिले उहाँलाई नेतृत्व हस्तान्तरण गर्ने अवस्था छैन। किनभने एक त उहाँ राजनीतिमा आउनु हुन्छ भनेर पार्टीले ठानेको र मानेको अवस्था नै छैन। दोस्रो, पार्टी काम छाडेर उहाँ धेरै वर्ष नै बाहिर जानुभएको छ, नेतृत्वमा बसेर काम गरेको अनुभव छैन।’