काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विधान संशोधन मस्यौदामा गम्भीरतापूर्वक बहस गर्न आग्रह गरेका छन् ।
शुक्रबार बिहान सामाजिक सञ्जालमा एक पोस्ट गर्दै पोखरेलले सार्वजनिक रूपमै पोलिटब्युरो सदस्यहरूलाई विधान संशोधन मस्यौदामा गम्भीरतापूर्वक बहस गर्न आग्रह गरेका हुन् ।
सचिवालय बैठकमा यसबारे गम्भीरतापूर्वक छलफल भएको उल्लेख गर्दै उनले पोलिटब्युरो र केन्द्रीय समितिमा पनि परिमार्जन गर्नेगरी छलफल गर्न आग्रह गरेका हुन् ।
फेसबुकमार्फत उनले भनेका छन्–‘पार्टीको विधान महाधिवेशनमा प्रस्तुत गरिने पार्टी विधानको संशोधन (मस्यौदा) माथि सचिवालयको बैठकमा गम्भीरताका साथ छलफल गरियो । आज पोलिटब्युरो सदस्यहरूका बीचमा छलफल हुनेछ ।पोलिटब्युरोका सम्पूर्ण कमरेडहरू गम्भीरताका साथ छलफल बहसमा सहभागी हुनुहुनेछ र केन्द्रीय कमिटीमा प्रस्तुत हुने प्रस्तावलाई थप परिमार्जन गर्ने कुरामा योगदान पुर्याउनुहुनेछ ।’
यसअघि हिजो एमालेको केन्द्रीय कार्यालय च्यासलमा १० घन्टाभन्दा लामो समय चलेको ५४ औं सचिवालय बैठक चर्काचर्की नै परेको स्रोतले बतायो ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पुनरागमनलाई लिएर नेकपा एमाले भित्र तीव्र ध्रुवीकरण बढिरहेको छ । जसले गर्दा हिजोको बैठकमा अध्यक्ष र वरिष्ठ उपाध्यक्षबीच नै मतभेदको अवस्था सृजना भएको थियो ।
बिहीबारको बैठकको सुरूआतमै अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी राजनीतिमा आउन रोक्नुपर्ने धारणा राखेका थिए। ओलील्े देशको सर्वोच्च पदमा जाने भनेको अब पार्टीमा फर्कन्न भनेर नै जाने हो, फेरि फर्किएर राजनीतिमा आउँदा त्यो पदको गरिमा के बाँकी रहन्छ ? भन्दै प्रश्न गरेका थिए ।
लगत्तै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, युवराज ज्ञवालीले यसको प्रतिवाद गरेका थिए।
पोखरेल राष्ट्रपति भइसकेको व्यक्ति पार्टीमा फर्कन नपाउने हो भने २०७२ मा उहाँ त्यो पदमा निर्वाचित भइसकेपछि नै विधि तय गर्नुपर्थ्यो भन्दै बरू अब उहाँ(भण्डारी)सँग कुरा गरेर के भूमिका दिने त्यसबारे छलफल हुनुपर्छ भन्दै कड्किएका थिए ।
बैठकमा पोखरेलले ‘पार्टीमा सर्वसत्तावाद लादेको र आफूलाई विकल्पहीन ढंगले प्रस्तुत गर्दै अरू सदस्यहरूको मानमर्दन गर्ने काम गरेको’ भन्दै ओलीमाथि आरोप मत्रै लगाएनन् पहिलो विधान महाधिवेशनपछि तीनथरी विधान छापेको भन्दै आक्रोश पनि पोखेका थिए ।
तर, ओलीले भने त्यसको प्रतिवाद गरेको बैठकमा सहभागी एक नेताले बताए । ओलीले ‘तपाईं कर्ण थापाको प्रवक्ता बन्ने ? कहाँ छापियो तीनवटा विधान ? दसौं महाधिवेशनले विधान संशोधन गरेको होइन ? महाधिवेशनअघि बसेको बैठकले निर्णय गरेको होइन ? यति कुरा पनि थाहा छैन ?’ भनेर अध्यक्ष ओली खरो ढंगले प्रस्तुत भएपछि पोखरेल पनि जंगिएका थिए।
पोखरेलको भनाई उदृध गर्दै ती नेताले भने–‘म किन अर्काको विचार बोल्छु ? म जत्तिको मानिस अर्काको प्रवक्ता हुनुपर्छ ? मेरो आफ्नो विवेक छैन ? तीन वटा विधान छापिएको यथार्थ हो । त्यसलाई पुष्टि गर्ने महाधिवेशनका दस्तावेज सुरक्षित छन् ।’