काठमाडौं। सचिवालय बैठकको निर्णयलाई लिएर नेकपा एमाले शीर्ष नेताहरू नै ‘वाकयुद्ध’ मा ओर्लेपछि आज बस्ने पोलिटब्युरो बैठकमा हंगामा हुने संकेत देखिएको हो ।
पोलिटब्युरो बैठक दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बस्ने तय भएको छ । गएराति सम्पन्न सचिवालय बैठकले गरेका निर्णयलाई साथ दिंदै महासचिव शंकर पोखरेलले पार्टीमा विधि निर्माणमा रहेको अन्योल हटेको दाबी गरेका छन् भने लगत्तै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले महासचिव पोखरेलको प्रतिवाद गरेका छन् ।
साथै वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीको विधान महाधिवेशनमा प्रस्तुत गरिने पार्टी विधान संशोधन (मस्यौदा) माथि सचिवालय बैठकमा गम्भीरताका साथ छलफल भएको भन्दै पोलिटब्युरो बैठकमार्फत परिमार्जनका लागि छलफल गर्न तयारी गर्न भनेका छन् ।
शुक्रबार बिहानै सामाजिक सञ्जाल फेसबुकमा महासचिव पोखरेलले विधि निर्माणको अन्योल अन्त्य भएकाले मिसन ८४ का लागि बलियो नेतृत्व र एकताबद्ध पार्टीको सुनिश्चित भएको बताएको केही घण्टामै वरिष्ठ उपाध्यक्ष पोखरेलले महासचिव पोखरेललाई काउन्टर जवाफ दिएका हुन् ।
महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्–‘विधि निर्माणको अन्योल अन्त्य भएको छ । मिसन–८४ का लागि बलियो नेतृत्व र एकताबद्ध पार्टी आवश्यक थियो । त्यो सुनिश्चित भएको छ ।'
शुक्रबार मध्यराति सम्पन्न एमाले सचिवालय बैठकले पार्टीमा ७० बर्षे उमेरहद र २ कार्यकाल हटाउने तथा पदाधिकारी सङ्ख्या १५ बनाउने र केन्द्रीय कमिटी २५१ सदस्यीय बनाउने निर्णय गरेको थियो ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले नेतृत्वमा आउने प्रयास गरिरहेका बेला सचिवालय बैठकले गरेका निर्णयहरूबाट भण्डारी आगामी विधान महाधिवेशनमै प्रतिनिधि बन्न नपाउने भएकी छन् ।
यो प्रबन्धका कारण एमालेको ११ औँ महाधिवेशनमा ओली नै दोहोरिने निश्चित भएपछि पोखरेल विधि निर्माणको अन्योल हटेको बताएका हुन् । तर विद्याको पक्षमा खुलेका वरिष्ठ उपाध्यक्ष पोखरेल सचिवालयको निर्णय उल्ट्याउन सकिने भन्दै पोलिटब्युरो बैठकमा आफू निकटकाहरुलाई आह्वान गरिरहेका छन् ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले पोलिटब्युरो सदस्यहरूलाई प्रस्तावमाथि बहस र छलफलमा सक्रिय सहभागिता जनाउन आह्वान गर्दै परिमार्जन गर्न सकिने बताएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्–‘पार्टीको विधान महाधिवेशनमा प्रस्तुत गरिने पार्टी विधानको संशोधन (मस्यौदा) माथि सचिवालयको बैठकमा गम्भीरताका साथ छलफल गरियो । आज पोलिटब्युरो सदस्यहरूका बिचमा छलफल हुनेछ । पोलिटब्युरोका सम्पूर्ण कमरेडहरू गम्भीरताका साथ छलफल बहसमा सहभागी हुनुहुनेछ र केन्द्रीय कमिटीमा प्रस्तुत हुने प्रस्तावलाई थप परिमार्जन गर्ने कुरामा योगदान पुर्याउनुहुनेछ ।’
पोखरेल ७० वर्षे उमेर हद र २ कार्यकाललाई निरन्तरता दिनुपर्ने पक्षमा छन् । तर सचिवालय बैठकले उक्त व्यवस्था हटाएपछि पोलिटब्युरोमार्फत परिमार्जन गर्न सकिने पोखरेलको विश्वास देखिन्छ ।
यसैबिच अर्का नेता तथा एमाले स्थायी कमिटी सदस्य कर्ण थापाले पनि सचिवालय बैठकको निर्णयप्रति असन्तुष्टि जनाएका छन् ।
थापाले पार्टी नेतृत्व र सञ्चालनसम्बन्धी स्थापित लोकतान्त्रिक मान्यता पालना गर्ने कि व्यक्तिको पदीय आकाङ्क्षा पुरा गर्न तोड्नेबारे गम्भीर बहस सुरु भएको भन्दै अनुमोदन प्रस्ताव अघि सारेर बहस गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा थापाले लेखेका छन्–‘लामो समयको बहसबाट पार्टी नेतृत्व र सञ्चालन सम्बन्धी स्थापित लोकतान्त्रिक मान्यता पालना गर्ने कि व्यक्तिको पदीय आकाङ्क्षा पूरा गर्न तोड्ने गम्भीर बहसको सुरुवात भएको छ, एमालेको सचिवालयको बैठकमा । कमरेड अध्यक्षको नेतृत्वमा पारित भएका दस्ताबेज अगाडि राखेर बहस गरौँ । आदेशबाट होइन, विधिबाट पार्टी सञ्चालन गर्न अन्तर सङ्घर्षलाई सघन बनाऊ । मर्यादा र शिष्टताका सीमालाई सबैले पालना गरौँ ।’