काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सबै भ्रष्टाचारको छानबिन र कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापन पत्र बुझाएको छ ।
शुक्रबार दलबलसहित अख्तियारको केन्द्रीय कार्यालय टङ्गाल पुगेर राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले ज्ञापन पत्र बुझाएका हुन् ।
देशमा भ्रष्टाचार महामारीको रुपमा फैलिँदै गएको भन्दै राप्रपाले सबै भ्रष्टाचारका काण्डहरुमाथि पुनः र व्यापक छानबिन गर्न तथा राजनीतिक नेतृत्व तहलाई उन्मुक्ति नदिन माग गरेको छ ।
अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राईलाई बुझाईएको ज्ञापनपत्रमा केन्द्र, प्रदेश, स्थानीय तहका बीच भ्रष्टाचारका लागि प्रतिस्पर्धा देखिएको राप्रपाले उल्लेख गरेको छ ।
ज्ञापन पत्रमा भनिएको छ–‘अहिले भ्रष्टाचार कहाँ कहाँ छ होइन, कहाँ चाहिँ छैन भनेर खोज्नुपर्ने परिस्थिति निर्माण भएको छ ।’
सुडान घोटाला, ललिता निवास, वाइडबडी, क्यान्टोन्मेन्ट, ओम्नी, एनसेल लगायतका ठूला भ्रष्टाचारका काण्डहरुमा राजीनतिक नेतृत्वको छानबिनको दायरा पर्नुले आयोगको निष्पक्षता र प्रभावकारिताको भन्दै अख्तियारमाथि नै राप्रपाले प्रश्न उठाएको छ ।