काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले एक्लै सफलता नपाइने बताएका छन् ।
शुक्रबार नेकपा (एकीकृत समाजवादी) सँगको एकता कार्यक्रमलाई सम्बोधन गर्दै गौतमले यस्तो बताएका हुन् । उनले आफूलाई एकीकृत समाजवादीमा आउन चार वर्ष लागेको बताए ।
एक्लै सफल नभइने बताउँदै उनले भने, ‘म एक्लै आएको छैन आज । एक्लै आउँदा कहिले पनि सफल भइन्न । चार वर्ष लाग्यो । त्यसो भएर आज म नेकपा एकता राष्ट्रिय अभियानको ७५ सदस्यीय केन्द्रीय कमिटीको समर्थन बोकेर आएको छु ।’
यस्तै उनले आफूले जिम्मा लिएको आन्दोलन कहिल्यै असफल नभएको बताए ।
'आवश्यकता पर्यो भने यी हातहरू हतियारका रूपमा प्रयोग हुन्छन्, हतियारका रूपमा प्रयोग गर्छु। अहिले पनि त्यसरी जान्छु। म आन्दोलनको व्यक्ति हुँ, नेता हुँ । मैले जिम्मा लिएको आन्दोलन असफल भएको छैन । सफलता मात्रै प्राप्त भएको छ,' उनले भने ।