Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक शाक्य नै बिचौलियाको चंगुलमा !

बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक शाक्य नै बिचौलियाको चंगुलमा !

शुक्रवार , श्रावण २, २०८२

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य छन् । तर प्राधिकरण र अन्तर्गतका आयोजनाहरुको ठेक्कादेखि कर्मचारी सरुवा लगायतका सबै काममा विवादास्पद बिचौलिया मनिन्द्रराज मल्ल हावी हुँदैआएका छन् ।

प्राधिकरणका एक उच्च अधिकारीका अनुसार मल्लले आफूले ठूलो लगानी गरेर शाक्यलाई कार्यकारी निर्देशक बनाएको भन्दै प्राधिकरण र मातहतका कम्पनी हुँदै आयोजनाका उच्चतहका कर्मचारीहरुसँग ठेक्कापट्टादेखि बिभिन्न दैनिक जानकारी लिने गर्दछन् ।

प्राधिकरणका आयोजना प्रमुखदेखि कम्पनीका प्रमुखसँग उनी एमडी नै भएजसरी हैकम चलाउँदैआएका छन् । प्राधिकरणका एक शाखा प्रमुखका अनुसार एमडी शाक्य मल्लका सामु निरीह जस्तै देखिन्छन् ।

मल्लको चलखेल प्राधिकरणमा यति धेरै देखिन्छ कि उनलाई ‘डिफ्याक्टो एमडी’ भन्न थालिएको छ । मल्लले ठूलै कमजोरी लिएर शाक्यसँग ब्ल्याकमेलिङ गरेकाले पो उनी यति कमजोर भएको टिप्पणी पनि प्राधिकरणका कर्मचारीेले गर्न थालेका छन् । प्राधिकरण मातहतका कार्यालय, आयोजना र कम्पनीका प्रमुखहरुसँग सबै कामको अपडेट मल्लले लिने गरेका छन् ।

अन्तर्राष्ट्रिय कल चोरी(भीओआईपी) गरी अरबौं राजस्व चुहावट गरेर पटक–पटक जेल परिसकेका मनिन्द्रराज मल्ल प्राधिकरण र मातहतका कार्यालय प्रमुख तथा आयोजना प्रमुखहरुसँग दिनेश मल्ल भनेर नाम समेत झुक्याएर छायाँ एमडीका रुपमा प्रस्तुत हुने गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीकै नाम लिएर उनले हितेन्द्रदेवलाई फनफनी घुमाएर प्राधिकरणका निर्णयमा हस्तक्षेप गर्ने गरेको स्रोत बताउँछ । तर प्रधानमन्त्री ओलीसँग उनको कुनै किसिमको पनि पहुँच र सम्बन्ध नभएको बालुवाटारनिकट स्रोत बताउँछ ।

प्रधानमन्त्री ओलीका स्वकीय सचिव राजेश बज्राचार्यसँग सामान्य चिनजानबाहेक प्रधानमन्त्रीसँग सम्बन्ध नै नभए पनि उनले बालुवाटारको नाममा प्राधिकरणका उच्च अधिकारीलाई भ्रममा पार्दै ठेक्कापट्टा र निर्णय गराउने गरेको आरोप छ । हितेन्द्रदेवलाई आफूले नै नियुक्ति गराएको भन्दै मल्लले प्राधिकरणका गोप्य सूचना लिने गरेका छन् ।

भीओआईपीमार्फत् अरबौं राजस्व छलीमा जेल परेका थिए मल्ल

६० को दशकमा अन्तर्राष्ट्रिय कल चोरी(भीओआईपी)बाट अरबौं देशको राजस्व मार्ने काम गरेबापत मल्ल र उनका परिवारका कतिपय सदस्य २ बर्ष जेल परेका थिए । भिओआईपी कल बाइपास गरेको भन्दै सन् २०१० को जनवरी अर्थात् २०६६ माघमा नेपाल प्रहरीले मल्ललाई पक्राउ गरी ठगी आरोपमा मुद्दा चलाएको थियो ।

भीओआईपीमार्फत् अरबौं राजस्वछलीमा मुछिएका मल्लको कम्पनी नमस्ते ग्लोबलसमेत जेभी रहेको मलेशियाको न्यूमेरा एसडीएन बीएचडीसँग नेपाल दूरसंचार प्राधिकरणले एमडीएमएसको परामर्श सेवा ७० लाख ६६ हजार ८८८ अमेरिकी डलर (१९ असार २०७६ को सटही दर अनुसार ७६ करोड ८० लाख २९ हजार ३८७) मा खरिद गर्ने ठेक्का सम्झौता गरेको थियो । मल्लले २०७६ सालमा सेटिङमा एमडीएमएसको परामर्श सेवा खरिद गर्ने ठेक्का पाएका थिए ।

नेपाल दूरसंचार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झाको मिलेमतोमा ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस)को परामर्श सेवा खरिदमा अत्यधिक लागत बढाई अनियमितता गरेकोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ चैत १५ गते मुद्दा दायर गरेको थियो ।

उक्त ठेक्कामा सेटिङ गर्ने मनिन्द्रराज मल्ल एजेन्ट रहेको सिंगापुरको नमस्ते ग्लोबल संलग्न थियो । एमडीएमएसको परामर्श सेवा खरिदमा अनियमितता भएको ठहर गर्दै विशेष अदालतले दूरसंचार प्राधिकरणका पूर्व अध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तम खनालका अतिरिक्त ठेक्का पाएका कम्पनी नूमेरा (एम), एसडीएन बर्हाद मलेसिया, नमस्ते ग्लोबल कम्युनिकेसन प्रालि सिंगापुर र ओएसआई कन्सल्टिङ प्रालि इण्डियाको ज्वाइन्ट भेन्चरलाई दोषी ठहर गरेको छ । बिशेष अदालतले अन्य व्यक्तिलाई सफाइ दिएको छ ।

मल्ल सिंगापुरको नमस्ते ग्लोबल कम्पनीका लोकल एजेन्टसमेत हुन् ।

नमस्ते ग्लोबलका एजेन्ट मनिन्द्रराज मल्ल नै भए पनि अप्रत्यक्ष रुपमा आफू संलग्न नभएको देखाउन कागजी रुपमा भाइ कविन्द्र मल्ललाई राखेका थिए । मनिन्द्रराजले एमडीएमएसमा फाइदा आफूले लिएर भाइलाई भने भ्रष्टाचारको मुद्दामा फसाएका थिए ।

प्राधिकरणमा बिचौलिया मल्लको हस्तक्षेप र सेटिङका सम्बन्धमा अनलाइन नेपालले कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसँग प्रतिक्रिया लिन शुक्रबार पटक–पटक सम्पर्क गर्दा पनि उनले रेस्पोन्स गरेनन् ।

समाचारका बारेमा मनिन्द्रराज मल्लसँग पनि हामीले प्रतिक्रियाका लागि धेरै प्रयास गर्यौं । तर पटक–पटकको प्रयासमा पनि उनी सम्पर्कमा आउन चाहेनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077