काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र बामदेव गौतम नेकपा राष्ट्रिय एकता अभियानबीच पार्टी एकता घोषणा भएको छ ।
राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा दुई पार्टीबीच एकताको घोषणा भएको हो। नेकपा राष्ट्रिय एकता अभियानका अध्यक्ष वामदेव गौतम अब एकीकृत समाजवादीको वरिष्ठ नेता बनेका छन् ।
उनी अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालपछि तेस्रो वरियतामा रहनेछन्। एमालेले वेवस्ता गरेपछि नेता गौतम नेकपा एससँग एकता गर्न पुगेका छन्।
नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेपछि वामदेव गौतमले आफू सय वर्ष हुँदासम्म कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउने बताएका छन् ।
आफूलाई सय वर्षसम्म बाँच्छुजस्तो लागेको बताएका उनले विभाजित कम्युनिष्ट पार्टीलाई एउटै बनाउने प्रयास नछाड्ने बताए।
उनले एमाले र माओवादीबीच एकता हुँदा आफूजति खुसी अरु कोही नभएको भनेपनि त्यो असफल भएको बताए ।
उनले भने–‘चार वर्षपहिले म आउन पाएको भए समाजवाद हुन्थ्यो। किनभने म लागेपछि हुन्छ। म लागेपछि समाजवाद निर्माण हुन्छ। सबैको साथमा लाग्ने हो, एक्लै लाग्ने होइन, यो आवश्यकता छ आजको ।’
उनले आफू आन्दोलनबाट आएको नेता भएको बताउँदै उनले भने–‘म एक्लै आएको छैन आज । एक्लै आउँदा कहिले पनि सफल भइनँ । चार वर्ष लाग्यो । त्यसो भएर आज म नेकपा एकता राष्ट्रिय अभियानको ७५ सदस्यीय केन्द्रीय कमिटीको समर्थन बोकेर आएको छु ।’
त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै सम्मानित नेता झलनाथ खनालले वामपन्थी एकता अहिलेको आवश्यकता भएको बताएका छन् ।
वामपन्थी एकताको लागि सही नीति र सिद्धान्त आवश्यक रहेको बताउँदै उनले भने–‘समीक्षा गरेर वामपन्थी एकताको साझा आधार तयार पारेर सम्पूर्ण वामपन्थीहरुलाई एकताबद्ध गर्नु आजको महत्वपूर्ण कर्तव्य हो । त्यसका लागि हामी आफैं बदलिनुपर्छ । हामीले पार्टीलाई बलियो बनाउनुपर्छ, गलत चिन्तन हामी भइरहेका छन्, त्यसकाविरुद्ध दृढतापूर्वक संघर्ष गर्नुपर्छ ।’
उनले एमाले र माओवादीबीच एकता हुँदा नीतिगत बनाउन नसकेको कारणले टिक्न नसकेको बताए । नेकपा एकताबद्ध हुँदा दुई तिहाइ मत प्राप्त गरेको भएपनि देशको कम्युनिस्ट आन्दोलन भयावह रूपमा दक्षिणपन्थी अवसरवादमा परिणत आरोल लगाए। नेकपा विघटनको दिनदेखि चौतर्फी राजनीतिक संकटमा फसेको उनको बुझाइ छ ।