काठमाडौं । रुसको सुदूर पूर्वी क्षेत्रमा ४९ जना सवार यात्रुवाहक विमान दुर्घटनामा परेको छ। आङ्गारा एयरलाइन्सको एन्टोनोभ एएन–२४ मोडेलको विमान ब्लागोभेस्चेन्स्कबाट चीनसँग सीमा जोडिएको आमूर क्षेत्रको टिण्डा शहरतर्फ जाँदै गर्दा रडारबाट सम्पर्कविहीन बनेको थियो।
विमान बेपत्ता भएपछि खोजी कार्यका लागि हेलिकोप्टर र ड्रोन प्रयोग गरिएको थियो। रुसको आपतकालीन मन्त्रालयका अनुसार खोजीका क्रममा रूसी नागरिक उड्डयनको हेलिकोप्टरले विमानको जलिरहेको भाग फेला पारेको बीबीसीले जनाएको छ।
आमूर क्षेत्रका गभर्नर भासिली ओर्लोभले टेलिग्राममार्फत् जानकारी दिँदै प्रारम्भिक विवरण अनुसार विमानमा ४३ जना यात्रु र ६ जना चालक दलका सदस्य सवार रहेको बताएका छन्। यात्रुमध्ये ५ जना बालबालकासमेत रहेका थिए।
तर, रूसी आपतकालीन मन्त्रालयले भने यात्रुको संख्या फरक दिएको छ। मन्त्रालयका अनुसार विमानमा करिब ४० जना मात्र सवार थिए।
१९६० को दशकमा निर्माण गरिएको एएन–२४ मोडेलका विमानहरू अझै पनि रुस तथा पूर्व सोभियत संघका केही देशहरूमा दुर्गम क्षेत्रका यात्रु तथा सामान ढुवानीका लागि प्रयोग हुँदै आएका छन्।