Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

६ अर्ब ५४ करोड लागतमा सिनामंगलको हवाई इन्धन डिपो स्थानान्तरण हुँदै

६ अर्ब ५४ करोड लागतमा सिनामंगलको हवाई इन्धन डिपो स्थानान्तरण हुँदै

बिहिवार , श्रावण ८, २०८२

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल सञ्चालनमा रहेको सिनामंगलस्थित हवाई इन्धन डिपोलाई स्थानान्तरण गरी गुह्येश्वरीमा अत्याधुनिक र पूर्णरूपमा स्वचालित नयाँ डिपो निर्माण गर्न लागिएको छ। नेपाल आयल निगमले बिहीबार उक्त डिपो निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सार्वजनिक गरेको छ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान कन्सल्टेन्सी सेवाले तयार पारेको डिपिआर बिहीबार एक समारोहका बीच नेपाल आयल निगमलाई हस्तान्तरण गरिएको हो। नयाँ डिपो नेपाली सेनाको गल्फ कोर्स क्षेत्र (गुह्येश्वरी) मा निर्माण गरिनेछ।

डिपिआरअनुसार प्रस्तावित डिपोको कुल लागत ६ अर्ब ५४ करोड २९ लाख रुपैयाँ अनुमान गरिएको छ। निगमका अनुसार यो डिपो अमेरिकी पेट्रोलियम इन्स्टिच्युटले तोकेको अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड अनुसार निर्माण गरिनेछ।

नयाँ डिपो भविष्यमा पनि बढ्दो इन्धन खपतलाई मध्यनजर गर्दै तयार गरिनेछ। नेपाल आयल निगम हवाई इन्धन डिपो सिनामंगलका प्रमुख प्रदीपकुमार यादवका अनुसार, यो डिपो आगामी ५० वर्षको हवाई इन्धनको माग धान्न सक्ने क्षमताको हुनेछ।

निर्माण हुने डिपो एल–३ लेभल अटोमेसनयुक्त (पूर्ण स्वचालित) हुनेछ। इन्धन भण्डारणका लागि ३ हजार किलोलिटर क्षमताका पाँचवटा भर्टिकल ट्याङ्की निर्माण गरिनेछ। साथै, अग्नि सुरक्षा सुनिश्चित गर्न २,१०० किलोलिटर क्षमताका दुईवटा स्ट्याटिक वाटर ट्याङ्की तथा पूर्ण स्वचालित फायर फाइटिङ सिस्टम जडान गरिनेछ।

डिपोको क्षेत्र भविष्यमा थप ट्याङ्की राख्न मिल्ने गरी पूर्वाधारसमेत तयार गरिने निगमले जानकारी दिएको छ।

नेपाल सरकारले गत वर्ष नै डिपो स्थानान्तरणका लागि निर्णय गरिसकेको थियो। अहिलेको सिनामंगलस्थित डिपो अन्तर्राष्ट्रिय मापदण्ड विपरीत रहेकाले र भौतिकरूपमै विस्तार गर्न नसकिने अवस्थाका कारण नयाँ डिपो निर्माणको आवश्यकता देखिएको हो।

निगमले नागरिक उड्डयन प्राधिकरणले जग्गा व्यवस्थापनको काम छिटो सम्पन्न गरेमा भदौभित्रै निर्माणका लागि बोलपत्र आह्वान गर्ने र चालु आर्थिक वर्षको मंसिरदेखि निर्माण सुरु गर्ने योजना सार्वजनिक गरेको छ। निर्माण कार्य दुई वर्षभित्र सम्पन्न गरी २०८४ सालको मंसिर महिनादेखि डिपो सञ्चालनमा ल्याउने लक्ष्य लिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077