एजेन्सी । स्कटल्यान्डमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध सर्वसाधारण सडकमा उत्रिएका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले शनिबार स्कटल्यान्डको समुद्री तटस्थित टर्नबेरी गल्फ कोर्समा गल्फ खेल्दै गर्दा त्यहाँका सर्वसाधारण सडकमा उत्रिएर उनको भ्रमणको विरोध गरेका हुन् ।
अमेरिकी राष्ट्रपतिलाई खुसी पार्न खोजेको उनीहरूले बेलायतका नेतामाथि आरोप लगाए ।
ट्रम्प र उनका छोरा एरिकले पनि बेलायतका निम्ति अमेरिकी राजदूत वारेन स्टीफन्ससँगै टर्नबेरीमा गल्फ खेलेका थिए । ट्रम्पको पारिवारिक कम्पनीले सन् २००८ मा यो गल्फ कोर्स किनेको थियो ।
त्यहाँबाट करिब १६० किलोमिटर टाढा स्कटल्यान्डको राजधानी एडिनबर्गमा सयौँ प्रदर्शनकारी अमेरिकी वाणिज्य दूतावासबाहिर जम्मा हुँदै विरोध प्रदर्शन गरेका थिए । त्यसक्रममा वक्ताहरूले ‘एडिनबर्गमा ट्रम्पलाई स्वागत गर्न सक्दैनौँ’ भनेका थिए ।