काठमाडौं । लगातार सातौ कारोबार दिनसम्म बढेको सेयर बजार आज घटेको छ ।
अघिल्लो दिनको तुलनामा बजारको परिसूचक नेप्से १८.४४ अंक घटेको हो । सो गिरावटपछि नेप्से २९६४.२० अंकमा कायम भएको छ ।
आइतबार ६३ वटा कम्पनीको शेयर मूल्य वृद्धि भयो भने १८६ वटा कम्पनीको शेयरमा गिरावट आयो । समग्रमा नेप्से परिसूचक घट्दा पुँजीकरण पनि ०.६१ प्रतिशतले घटेको छ ।
आइतबार समता घरेलु लघुवित्तका शेयर कारोबारीले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् भने नारायणी डेभलपमेन्ट बैंकको शेयर कारोबारीले सबैभन्दा धेरै गुमाएका छन् ।
नेप्से परिसुचक घटेपनि आज कारोबार रकम भने उल्लेख्य बढ्यो । अघिल्लो कारबार दिन १८ अर्ब ४९ करोडको कारोबार भएकोमा आज २६ अर्ब ५७ करोडको भयो ।
यो कारोबार रकम गत वर्षको भदौ २ यताकै उच्च हो । सो दिन २८ अर्ब ८३ करोडको कारोबार भएको थियो । गत वर्षको साउन ३० गते हालसम्मकै उच्च २९ अर्ब ९५ करोडको कारोबार रेकर्ड छ । यसअघिका सात कारोबार दिन नेप्से बढेको थियो ।
विकास बैंक १.२३, उत्पादन तथा प्रशोधन १.०८ तथा व्यापार १.४४ प्रतिशत बढे ।
फाइनान्स सबैभन्दा धेरै १.९९ प्रतिशत घट्यो भने बैंकिङ ०.७१, होटल तथा पर्यटन १.७९, हाइड्रोपावर १.०९, लगानी १.६६, जीवन बीमा १.३५, निर्जीवन बीमा ०.६७ तथा अन्य ०.८६ प्रतिशत घटे ।