काठमाडौं । आज सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३०.४९ अंकले बढेर ३००१.८० बिन्दुमा पुगेको छ । आज सेयर बजारले तीन हजार बिन्दुको मनोवैज्ञानिक प्रतिरोध पार गरेको हो ।
अघिल्लो कारोबार दिन सोमबार नेप्से ७.१० अंकले बढेको थियो भने बुधबार १८.४४ अंकले घटेको थियो । त्यसभन्दा अगाडिका आठ कारोबार दिन नेप्से लगातार बढेको थियो ।
नेप्सेले आज चार वर्षयताको नयाँ रेकर्ड कायम गरेको छ। २०७८ भदौ ३ गते ३२ सय पुगेको नेप्से गत वर्ष ३०३६ अंकसम्म उक्लिए पनि सोही अंकमा टिक्न भने सकेको थिएन।
जसले गर्दा ३ हजारमै बन्द भएको नेप्सेले सोभन्दा माथिको यात्रा गर्न सकेको थिएन।
मंगलबार भने बजारमा सूचकले ३०२७ को अधिकतम विन्दु चुम्दै ३००२ अंकमा बन्द भएको हो। चार वर्षपछि आज नेप्से ३ हजार माथि बन्द भएको हो।
मंगलबार नेप्सेले अधिकतम ३०२७ अंक चुम्न सफल भए पनि त्यसयताको उतारचढावले सोही अंकमा टिकिरहन भने सकेन। १२ बजेर १८ मिनेटमा ३०२७ मा पुगेको नेप्से २ बजे २९ मिनेटमा तल्लो विन्दु २९९१ मा पुगेको थियो।
अन्तिम समयमा सूचक पुनः सम्हालिएर अगाडि बढ्दा नेप्से ३ हजारमाथि नै बन्द हुन सफल भएको हो।
मंगलबार नेप्सेमा कुल १८ अर्ब ५२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिललो कारोबार दिन सोमबार भने नेप्सेमा कुल १८ अर्ब ७५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
मंगलबार कारोबारमा आएकामध्ये १७६ कम्पनीको सेयर मूल्य बढ्दा ७४ कम्पनीको सेयर मूल्य भने घटेको छ ।
आज १७६ कम्पनीको मूल्य बढ्दा ७४ को घट्यो । अन्य समूह सबैभन्दा धेरै २.५८ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ १.३२, होटल तथा पर्यटन ०.३२, हाइड्रोपावर ०.४४, लगानी ०.९४, जीवन बीमा ०.७९, उत्पादन तथा प्रशोधन ०.९८, माइक्रोफाइनान्स १.६९ तथा निर्जीवन बीमा १.१२ प्रतिशत बढे । व्यापार ०.२५, विकास बैंक ०.३६ तथा फाइनान्स ०.१२ प्रतिशत घटे ।
चार कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा मुक्तिनाथ कृषि कम्पनी, ट्रेड टावर, सान्भी इनर्जी र नाडेप लघुवित्त छन् । केही दिनयता १० प्रतिशत मूल्य बढिरहेको नयाँ कम्पनी ट्रेड टावर प्रतिकित्ता ८६२.७० रुपैयाँ पुगेको छ भने सान्भी ७६९ रुपैयाँ पुगेको छ ।
त्यस्तै नेपाल वेयरहाउजिङको ८.०६, मायाखोलाको ७.२१ तथा ग्रिन भेन्चर्सको ७ प्रतिशत मूल्य बढ्यो । समता घरेलु लघुवित्तको मूल्य सबैभन्दा धेरै ८.६ प्रतिशत घट्यो । अन्य मूल्य घटेका कम्पनीको गिरावट दर ३ प्रतिशतमुनि रह्यो ।
आज धेरै कारोबार भएका कम्पनीमा हिमालयन डिस्टिलरी, ग्रिन भेन्चर्स, नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स र राधि विद्युत् छन् ।