काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय सामानमा २० देखि २५ प्रतिशत भन्सार कर लगाउने घोषणा गरेपछि भारतले पनि अर्को कदमबारे मूल्यांकन गरिरहेको बताएको छ ।
यो करको दर १ अगस्टदेखि लागु हुनेछ ।
ब्लूमबर्गका स्रोतहरूका अनुसार, भारतले अमेरिकासँगको व्यापार घटाउने उपायहरूबारे विचार गरिरहेको छ । यसमा आगामी वर्षहरूमा अमेरिकी प्राकृतिक ग्यास, सञ्चार उपकरण, र सुनको आयात बढाउन सकिन्छ । तर, सरकारले कुनै नयाँ रक्षा उपकराणहरू खरिद गर्ने विचार गरिरहेको छैन ।
“अमेरिकी सामानको खरिदमा वृद्धि गर्ने विचार भए पनि मोदी सरकारले ट्रम्पको मुख्य मागअनुसार अमेरिकाबाट थप रक्षा उपकरणहरू किन्ने सम्भावना कम छ,” ब्लूमबर्गले रक्षा अधिकारीहरूलाई उदृत गर्दै भनेको छ ।
यो निर्णयले भारतलाई एफ–३५ फाइटर जेट बेच्ने अमेरिकी प्रस्तावमा प्रत्यक्ष असर पार्नसक्ने बताइएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीको फेब्रुअरीमा वासिङ्टन भ्रमणका क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यक्तिगत रूपमा एफ–३५ ए स्टेल्थ फाइटर जेटको बिक्रीलाई जोड दिएका थिए ।
सुरुमा भारतीय अधिकारीहरूले यो प्रस्तावबारे विचार गरे पनि अन्ततः यसलाई अस्वीकार गरेका छन् । भारतले अमेरिकालाई आफ्नो अडान स्पष्ट पार्दै तयारी रक्षा उपकरण खरिदमा रुचि नरहेको बताएको छ ।
बरु, देशको लामो समयदेखिको मेक इन इन्डिया पहलसँग मेल खानेगरी भारतमा रक्षा उपकरणको संयुक्तरूपमा विकास र सह–उत्पादनमा ध्यान केन्द्रित गरेको बताएको छ ।
ब्लूमबर्गले उल्लेख गरे अनुसार मोदी सरकारले निकट भविष्यमा अमेरिकासँग कुनै ठूला नयाँ रक्षा सम्झौताहरू स्वीकृत गर्ने सम्भावना कम छ।
ट्रम्पले सबै व्यापारिक साझेदार देशहरूलाई १ अगस्टसम्म व्यापार सम्झौता गर्न समयसीमा दिएका छन् । यदि, यो मितिसम्म सम्झौता नभए, अमेरिकाले ती देशहरूमाथि उच्च पारस्परिक कर लगाउन सुरु गर्ने बताएको छ । -द इकोनोमिक टाइम्स