Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

अध्यक्ष नेपालसँग रुष्ट खनाल भेट्न डल्लु पुगे गौतम

अध्यक्ष नेपालसँग रुष्ट खनाल भेट्न डल्लु पुगे गौतम

शनिवार , श्रावण २४, २०८२

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनाल र वरिष्ठ नेता वामदेव गौतमबीच भेटवार्ता भएको छ।

सम्मानीत नेता खनाललाई भेट्न शनिबार मध्याह्न वरिष्ठ नेता गौतमले खनाल निवास डल्लु पुगेका हुन्।

दुई नेताबीच दुई घन्टादेखि छलफल चलिरहेको छ । पार्टीभित्रको आन्तरिक विवाद र समसामयिक राजनीतिक विषयवस्तुबारे उनीहरूबीच छलफल चलिरहेको बताइएको छ।

पार्टीमा पछिल्लो समय अध्यक्ष माधवकुमार नेपाल र झलनाथ खनालबीच विवाद छ।

उनीहरूले सार्वजनिक रूपमै एक अर्काको आलोचना गरिरहेका छन्।

पतञ्जलीको जग्गा प्रकरणमा अध्यक्ष नेपालविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएपछि दुई नेताबीचको तिक्तता सतहमा आएको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतलमा अध्यक्ष नेपालविरूद्ध मुद्दा दर्ता गरेपछि सम्मानीत नेता खनालले नेतृत्वमा नैतिक प्रश्न उठेको बताउँदै नेपालले अध्यक्ष छाड्नुपर्ने बताएका थिए।

त्यसयता दुई नेताबीच वाकयुद्ध नै भएको छ। सार्वजनिक कार्यक्रममा एक अर्काको आलोचना गर्ने र दुवै नेताले सार्वजनिक कार्यक्रमबाटै एक अर्कामाथि तिखो जबाफ फर्काइरहेका छन्।

सम्मानीत नेता खनालले टेलिभिजन अन्तर्वार्ताका क्रममा एमाले विभाजन गरी गरिएको विद्रोह गलत भएको भन्ने आशयको अभिव्यक्ति दिएका थिए।

त्यसपछि अध्यक्ष नेपालले झलनाथ खनालका लागि पार्टीमा ठाउँ नभएको भनेका थिए।

पछि पत्रकार सम्मेलन गरेरै झलनाथले माधवलाई नेतृत्व गर्न नसके आफै पार्टी छाड्नु भनेका थिए।

दुवैले एक अर्कालाई एमालेमै फर्किन समेत भनेका छन्। वरिष्ठ नेता रहेका गौतम भने साउन २ गतेदेखि मात्रै एकीकृत समाजवादीमा आबद्ध भएका हुन्।

आफू नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान एकीकृत समाजवादीसँग एकता गरेपनि जिम्मेवारी नपाएको भन्दै गौतम पनि असन्तुष्ट छन्।

उनले पनि पद मात्रै दिने तर जिम्मेवारी नदिने पार्टीमा लामो समय नबस्ने भनेर नेतृत्वलाई सार्वजनिक कार्यक्रममार्फत नै भनिसकेका छन्।

नेपालसँग असन्तुष्ट बनेका खनाल र गौतमबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । एकातिर नेकपा माओवादीसँग एकताको प्रयास भइरहनु र अर्कोतिर पार्टीभित्र अन्तरविरोध शुरु हुनुले नेकपा एस एकपछि अर्को समस्यामा फसेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077