काठमाडौं । कैलाली कारागारमा एक जनाको मृत्यु हुनेगरी भएको झडपबारे छलफल गर्नका लागि गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायका प्रमुखलाई बोलाएका छन् ।
शनिबार सुरक्षा निकायका प्रमुखहरूलाई गृहमन्त्री लेखकले छलफलका लागि बोलाएका हुन् ।
शुक्रबार राति कारागारमा झडप हुँदा धनगढी–४ का भरत चौधरीको मृत्यु भएको थियो भने ४७ जना घाइते भएका छन् ।
घाइतेहरूको उपचार भइरहेको छ । अहिले केदीबन्दीहरूले कारागार नै नियन्त्रणमा लिएका छन् भने सुरक्षा व्यवस्था अव्यवस्थित बन्न पुगेको छ ।
यसबारे सुरक्षा निकायका प्रमुखसँग गृहमन्त्री लेखकले छलफल गर्न लागेको उनको सचिवालयले जनाएको छ ।
सुरक्षा स्रोतका अनुसार अहिले स्थिति नियन्त्रण बाहिर रहेको छ । सुरक्षाकर्मी कारागारभित्र प्रवेश गर्न सकेका छैनन् । भित्र के कति क्षति भएको छ भन्ने समेत जानकारी लिन सकिएको छैन ।
कैदीबन्दीहरुले भित्रबाट ताला लगाएर थुनुवा कक्षको मूल गेटमा ग्याँस सिलिन्डर राखेका छन् । कोही भित्र प्रवेश गरे सिलिण्डर पड्काएर आगो लगाइदिने चेतावनी दिएका छन् ।
१५० जनाको क्षमता भएको यो कारागारमा करिब ७०० जना कैदीबन्दी रहेका छन् । यो कारागारमा शनिबार राति करिब ११ बजेतिर झडप भएको थियो ।
कैलाली कारागारमा केही दिनदेखि झडप भइरहेको छ । बिहीबार पनि झडप हुँदा पाँच जना घाइते भएका थिए । त्यसले शुक्रबार राति ठूलो रुप लिएको हो ।