धनगढी । कैलाली जिल्ला कारागारमा गएराति भएको हिंसात्मक झडपपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र गृहमन्त्री रमेश लेखकबीच छलफल भएको छ ।
मुख्यमन्त्रीको सचिवालयका अनुसार, छलफलमा कैलाली कारागारमा घटेको घटना, प्रदेशको समग्र शान्ति–सुरक्षा अवस्था तथा विपद् व्यवस्थापनका चुनौतीबारे व्यापक कुराकानी भएको हो ।
शुक्रबार राति भएको झडपमा एक जनाको मृत्यु र ४७ जना घाइते भएका थिए । घाइतेहरूको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ, जसमा तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
शुक्रबार राति कारागारमा भएको झडपमा लागुऔषधसम्बन्धी मुद्दामा थुनामा रहेका धनगढी–४ का ४० वर्षीय भरत चौधरीको मृत्यु भएको थियो । कारागारभित्रका दुई समूहबीच सुरु भएको विवाद हिंसात्मक झडपमा परिणत भएको हो ।
घटना नियन्त्रणमा लिन सुरक्षाकर्मीले प्रयास जारी राखेका छन् तर कैदीबन्दीहरूले भित्रबाट ग्याँस सिलिन्डरमार्फत प्रवेश रोक्ने चेतावनी दिएकाले अवस्था संवेदनशील बनेको छ । यो घटनाले कैलालीका सिडियो गोगन बहादुर हमाल र एसपी बालनरसिंह राणाको कार्यक्षमतामाथि गम्भीर प्रश्न चिन्ह खडा भएको छ ।