Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

केन्द्रिय समितिमा मैले विधिको प्रश्न उठाएको हुँ, सहमहामन्त्रीमा दावी होइन : तोसिमा कार्की

केन्द्रिय समितिमा मैले विधिको प्रश्न उठाएको हुँ, सहमहामन्त्रीमा दावी होइन : तोसिमा कार्की

शनिवार , श्रावण २४, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले पार्टीको रिक्त सहमहामन्त्री नियुक्ति प्रकरणमा आफूले कुनै व्यक्ति विशेषको विरोध नगरेको स्पष्ट पारेकी छन् ।

उनले आफ्नो कुनै दाबी पनि उक्त पदमा नरहेको दोहोर्याउँदै पार्टीभित्रको निर्णय प्रक्रिया विधिसम्मत हुनुपर्नेमा जोड दिएकी छन् ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत् धारणा सार्वजनिक गर्दै कार्कीले शुक्रबारको केन्द्रीय समिति बैठकमा एजेन्डामा नभएको सहमहामन्त्री नियुक्तिको प्रस्ताव आएपछि आफूले अस्वीकार गरेको बताएकी हुन् ।

उनका अनुसार रिक्त पदमा इच्छुक तथा योग्य महिलामध्येबाट थप गृहकार्यसहित नियुक्ति गर्नुपर्ने सुझाव राखेकी थिइन् ।

शुक्रबारको बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले सभापति रवि लामिछानेका विश्वासपात्र दीपक बोहोरालाई सहमहामन्त्री बनाउने प्रस्ताव राखेपछि तोसिमासहितका नेताहरूले आपत्ति जनाएका थिए। सुमना श्रेष्ठको केही महिना अघि राजीनामापछि सहमहामन्त्री पद खाली छ ।

कार्कीले बैठकमा फरक मत राखिएको कुरा मिडियामा बाहिर ल्याइने तर आफ्नो धारणा गलत भाष्यका साथ प्रस्तुत भएको भन्दै असन्तुष्टि व्यक्त गरिन् ।
“मैले सहमहामन्त्रीको पदमा प्रस्तावित व्यक्तिको विरोध गरेको होइन,” उनले लेखिन्, “एजेन्डा अनुरूप मात्र प्रस्ताव र निर्णय गर्नुपर्ने विधि सच्याउन आग्रह गरेको हुँ। सचिवालय र पदाधिकारीहरूले यसलाई सकारात्मक रूपमा लिएर एजेन्डा फिर्ता गरी थप गृहकार्य गर्ने निर्णय गरेका छन्।”

उनले आफूलाई पद–लोभ देखाउने किसिमको प्रचार नगर्न आग्रह गरिन् । “यो पदमा मेरो कुनै दाबी छैन। म चुनाव लडेर निर्वाचित सांसद बनेकी हुँ,” उनले भनिन्, “पार्टीभित्र पनि पदाधिकारीहरू निर्वाचनमार्फत् नै आउनुपर्छ भन्ने नीतिको पक्षमा सुरुदेखि रहेकी छु।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077