काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेताहरूको नाममा खोलिएका प्रतिष्ठानहरू ठगी खाने भाँडो भएको आरोप लगाएका छन्।
मदन–आश्रित स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा बोल्दै एमाले अध्यक्षसमेत रहेका ओलीले व्यक्तिगत नाममा खोलिएका प्रतिष्ठानहरूलाई ठगी खाने भाँडो बनाएको बताएका हुन्।
कार्यक्रममा ओलीले भने–‘भक्तपुर हो कि कता हो कम्युनिस्ट पाठशाला बनाइएको छ। त्यो व्यक्तिको हो कि, परिवारको हो कि, श्रीमान–श्रीमतीको हो कि, आन्दोलनका लागि हो किरु ठगी खाने भाँडोको रूपमा खोलेका छन्। त्यस्तो हुनु हुँदैन। त्यस्ता प्रतिष्ठान(संस्थाहरू पार्टीअन्तर्गत खोलिनुपर्छ ।’
उनले मदन भण्डार फाउन्डेसन पनि पार्टीको नभई व्यक्तिगतरूपमा खोलिएको बताए। उनले भने–‘मदन भण्डारी फाउन्डेसन पनि अर्कै ढंगले बनेको हो। उहाँहरूले बनाउनुभएको हो। हेरौं कहाँ पुग्छ ।’
त्यस्ता संस्थाहरूमा पार्टीकै नेताहरूले नेतृत्व गर्नुपर्ने बताएका उनले पार्टी मातहतमा रहे क्षमतावान् व्यक्तिहरूले मौका पाउने दावी गरे ।
उनले प्रदीप ज्ञवालीलाई आफूले गुरू भन्ने गरेको बताउँदै मदन–आश्रित स्मृति प्रतिष्ठानमा सही नेतृत्व आएको बताए। प्रधानमन्त्री ओलीले भने–‘प्रदीप यस्तो मान्छे हुनुहुन्छ, मैले पनि उहाँलाई गुरू भन्छु। उहाँले सही नेतृत्व गर्नुहुन्छ भन्नेमा म ढुक्क छु ।’