चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन अन्तर्गत आज बिहान सुरु हुने भनिएको बन्दसत्र निर्धारित समयमा सञ्चालन हुन सकेको छैन ।
आज बिहान साढे ८ बजेबाट बन्द सुत्र सुरू गर्ने कार्यतालिका थियो । तर प्रतिनिधिहरूको नामावलीहरू नै टुंगो नलाग्दा तोकिएको समयमा सञ्चालन नभएको हो ।
रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार प्रतिनिधिहरूको टुंगो लगाउने प्रक्रिया जारी छ ।
निर्वाचन समितिले आइतबार करिब ४ हजार प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक गरेको थियो । तर उक्त नामावलीमा व्यापक त्रुटि देखिएको भन्दै प्रतिनिधिहरुले गुनासो गरेका छन् । त्यसपछि नामावली सच्याउनका लागि प्रतिनिधिहरुबाट निवेदन संकलन गर्ने कार्य भइरहेको छ ।
प्रतिनिधिहरुले आफ्नो नाम, विवरण तथा प्रतिनिधित्व सम्बन्धी त्रुटि सच्याउन फाराम भरेर निर्वाचन समितिमा बुझाइरहेका छन् । नामावली अद्यावधिक गर्ने काम सम्पन्न भएपछि मात्र बन्दसत्र सुरु हुने जनाइएको छ ।