Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

रास्वपाको बन्दसत्र आजदेखि, राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै सभापति लामिछाने

रास्वपाको बन्दसत्र आजदेखि, राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै सभापति लामिछाने

सोमवार , आषाढ ८, २०८३

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र आज बिहान ८ः३० बजेदेखि चितवनस्थित प्रदर्शनी केन्द्रमा सुरु हुँदैछ।

पार्टी सभापति रबि लामिछानेले बन्दसत्रको उद्घाटन गर्दै दिनभर विभिन्न प्रतिवेदन र प्रस्तावमाथि छलफल तथा अनुमोदन गरिने कार्यक्रम तय गरिएको छ।

प्रदर्शनी केन्द्रका तीन ठूला हलमध्ये दुई हल बन्दसत्रका लागि तयार पारिएका छन् भने अर्को हलमा प्रतिनिधिहरूका लागि खाना तथा खाजाको व्यवस्था गरिएको छ।

रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्रको सुरुवातपछि अनुशासन आयोगका संयोजक रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्नेछन्।

त्यसपछि कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन, महामन्त्री बुर्लाकोटीले सांगठनिक प्रतिवेदन तथा सहमहामन्त्री बिपिनकुमार आचार्यले विधान संशोधन प्रस्ताव प्रस्तुत गरी अनुमोदन गराउने कार्यसूची रहेको छ।

यस्तै, उपसभापति डा. स्वर्णिम वाग्लेले अर्थ–राजनीतिक प्रस्तावना प्रस्तुत गर्नेछन् भने सभापति रबि लामिछानेले पार्टीको राजनीतिक प्रतिवेदन पेश गर्दै त्यसमाथि छलफल र अनुमोदन गराउने कार्यक्रम छ।

कार्यतालिकाअनुसार दिउँसो १ः१५ बजे सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठनको घोषणा गर्नेछन्। त्यसपछि आयोजक समितिले महाधिवेशनको सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई हस्तान्तरण गर्नेछ।

भोजन अवकाशपछि निर्वाचन आयोगले निर्वाचन प्रक्रिया र निर्वाचन तालिका सार्वजनिक गर्ने तयारी गरेको छ।

रास्वपाका केन्द्रीय सदस्य राजन गौतमका अनुसार बन्दसत्रमा सहभागी प्रतिनिधि, सुपरिवेक्षक र स्वयंसेवकका लागि आज र भोलिको भोजन व्यवस्थापन सोही स्थलमा गरिएको छ। बन्दसत्रमा कुल ४ हजार २११ प्रतिनिधि, सुपरिवेक्षक र स्वयंसेवक सहभागी हुनेछन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077