Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पत्याउनै नसकिने तर यथार्थ : महिलाको कलेजोमा तीन महिनाको भ्रूण !

पत्याउनै नसकिने तर यथार्थ : महिलाको कलेजोमा तीन महिनाको भ्रूण !

मंगलवार , श्रावण २७, २०८२

काठमाडौं । भारतको पश्चिमी उत्तर प्रदेशको बुलन्दशहर जिल्लाको दस्तुरा गाउँकी ३५ वर्षीया सर्वेशमा अत्यन्तै दुर्लभ प्रकारको गर्भावस्था पत्ता लागेको छ। उनको भ्रूण गर्भाशयमा नभई कलेजोमा विकास भइरहेको पाइएको हो।

सर्वेशको अवस्थाले स्थानीयदेखि वरिष्ठ चिकित्सक र अनुसन्धानकर्तासम्मको ध्यान खिचेको छ। सामान्यतया गर्भावस्था गर्भाशयमै विकास हुन्छ, तर सर्वेशको केसमा भ्रूण कलेजोमा टाँसिएको थियो। यस अवस्थालाई इन्ट्राहेपाटिक एक्टोपिक प्रेग्नेन्सी भनिन्छ, जुन संसारभर अत्यन्तै दुर्लभ मानिन्छ।

लगातार बान्ता, थकान र पेट दुखाइका कारण सर्वेशले उपचार गराइन्। पहिलो अल्ट्रासाउन्डमा केही देखिएन र पेटको संक्रमणका लागि औषधि दिइयो। तर, एक महिना बित्दा पनि स्वास्थ्यमा सुधार नआएपछि गरिएको दोस्रो अल्ट्रासाउन्डमा चिकित्सक चकित परे। भ्रूण कलेजोमा रहेको थियो।

अल्ट्रासाउन्ड गर्ने डा. सानिया जेहराले यो तथ्य सुनाउँदा सर्वेश र उनका श्रीमान् परमवीरलाई विश्वास गर्न गाह्रो भयो। पुष्टिका लागि मेरठमा गरिएको पुनः अल्ट्रासाउन्ड र एमआरआईले पनि यही देखायो।

एमआरआई गर्ने डा. केके गुप्ताले भने–‘२० वर्षको करियरमा यस्तो केस कहिल्यै देखेको थिइनँ। कलेजोको दायाँ भागमा १२ हप्ताको गर्भ थियो, जसको मुटुको धड्कन स्पष्ट सुनिन्थ्यो।’

चिकित्सकका अनुसार भ्रूण बढ्दै गए कलेजो फाट्ने खतरा हुन्छ, जसले आमा र बच्चा दुवैको ज्यान लिन सक्छ। त्यसैले तत्काल शल्यक्रिया बाहेक विकल्प थिएन।
बुलन्दशहर र मेरठका चिकित्सकहरूले जोखिमका कारण यो केस लिन मानेनन् र दिल्ली जान सल्लाह दिए। तर, आर्थिक अभावका कारण सर्वेश दम्पतीले स्थानीयमै उपचार गर्ने निर्णय गरे।

अन्ततः मेरठको निजी अस्पतालमा डा. पारुल दहिया र वरिष्ठ सर्जन डा. सुनील कणवलको टोलीले डेढ घण्टा लामो शल्यक्रिया सफलतापूर्वक सम्पन्न गर्‍यो। शल्यक्रियापछि उनको पेटमा २१ टाँका लगाइयो र भारी सामान नउठाउन, हल्का खाना खान तथा अधिकतम आराम गर्न सल्लाह दिइएको छ।

दुर्लभ अवस्थाको व्याख्या
बीएचयूकी स्त्रीरोग विशेषज्ञ डा. ममता सिंहका अनुसार सामान्य अवस्थामा अण्डाशयबाट निस्किएको अण्डा शुक्रकीटसँग मिलेर फर्टिलाइज भएपछि फेलोपियन ट्यूब हुँदै गर्भाशयमा पुग्छ। तर, केही अवस्थामा यो अण्डा अन्य अंगको सतहमा टाँसिन्छ। सर्वेशको केसमा यो कलेजोमा टाँसिएको थियो।

लिवरमा राम्रो रक्त आपूर्ति हुने भएकाले प्रारम्भमा भ्रूणको विकास सहज भए पनि केही समयपछि यो आमा र भ्रूण दुवैका लागि खतरनाक बन्छ।

एम्स पट्नाकी प्रोफेसर डा. मोनिका अनन्तका अनुसार विश्वभरका गर्भावस्थामध्ये करिब ७०–८० लाखमा मात्रै एउटा इन्ट्राहेपाटिक एक्टोपिकको केस देखिन्छ। अहिलेसम्म विश्वभर ४५ वटा मात्र केस दर्ता भएका छन्, जसमा तीनवटा भारतका हुन्।

मेरठका चिकित्सकहरूले सर्वेशको केस पनि अभिलेख राख्दैछ र छिट्टै प्रतिष्ठित मेडिकल जर्नलमा प्रकाशनका लागि पठाउने तयारी छ। –बीबीसी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077