काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सूचना प्रविधिले जनतालाई छिटोछरिटो र पारदर्शी तवरले सेवा दिइरहेको बताएका छन्।
नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै घर-घरमा इन्टरनेटको पहुँचले मोबाइल बैङ्किङ, अनलाइन फाराम तथा डिजिटल शिक्षाका प्रविधिमैत्री योजनाहरूले जनताको जीवनशैली सरल बनाउँदै लगेको बताए।
उनले भने- 'डिजिटल प्लेटफर्महरू- शिक्षा, स्वास्थ्य, बैङ्किङ, हवाई, सरकारी सेवा लगायतका विभिन्न क्षेत्रमा प्रयोग भइरहेका छन् । हामीले यसको प्रयोग शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगारी तथा सार्वजनिक सेवा प्रवाहमा जिम्मेवार र प्रभावकारी रूपमा गर्न आवश्यक छ । सूचना प्रविधिले जनतालाई छिटो, सजिलो र पारदर्शी ढंगले सेवा दिन उल्लेखनीय भूमिका खेलिरहेको छ ।'
उनले थपे- 'नेपाली कांग्रेस नेतृत्वको सरकारको अग्रसरतामा जारी भएका दूरसञ्चार सम्बन्धी नीति, ऐन र नियमहरूले आज नेपालका टाढाका बस्तीहरू र सबै नागरिकलाई प्रविधिको पहुँचमा ल्याएको छ ।'
कांग्रेस नेतृत्वको सरकारको अग्रसरतामा जारी भएका दूरसञ्चार सम्बन्धी नीतिहरूले सबै नागरिकलाई प्रविधिको पहुँचमा पहुँचमा ल्याएको उनले बताए ।