काठमाडौं । आज पनि प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले अवरोध गरेका छन् ।
बैठक सुरु भए लगत्तै दुवै दलका सांसदहरू उठेर अवरोध जनाएका हुन् ।
भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै रास्वपा र राप्रपाका सांसदले आज पनि प्रतिनिधिसभामा विरोध जनाएका छन् ।
त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद चन्दा कार्की (भण्डारी) लाई बोल्न दिएका थिए । उनले भिजिट भिसा प्रकरणमा आफूहरूको माग अनुरूप छानबिन गर्न समिति नबन्दासम्म विरोध गरिरहने बताइन् । उनले मन्त्रिपरिषद्का सदस्यहरू विभिन्न काण्डमा मुछिएको भन्दै छानबिन गर्न समेत माग गरिन् ।
त्यसपछि सभामुख घिमिरेले राप्रपाका सांसद ध्रुवबहादुर प्रधानलाई बोल्ने समय दिए । यस विषयमा संसदीय उच्चस्तरीय छानबिन समिति गठन नगरिएसम्म विरोध जारी रहने उनले बताए ।
आफ्नो भनाइपछि दुवै दलका सांसदले संसद् बैठक बहिष्कार गरे । दुई दलले गत जेठ १३ गतेदेखि निरन्तर विरोध जनाउँदै आएका छन् ।