काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय मुक्ति पार्टी, नेपालबीच कार्यगत एकता भएको छ । यी दुई दलले यो एकतालाई एकता उन्मुख कार्यगत एकता रहेको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच जसपा अध्यक्ष अशोक राई र राष्ट्रिय मुक्ति पार्टी, नेपालका अध्यक्ष राजेन्द्र महतोले एकता घोषणा गरेका हुन्।
उपेन्द्र यादव नेतृत्वको जसपाबाट अलग भएका राई र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट अलग भएका महतोले कार्यगत एकताको घोषणामा हस्ताक्षर पनि गरेका छन् ।
कार्यगत एकता घोषणापत्रमा संगठनात्मक संरचना, सञ्चालन विधि, उद्देश्य तथा प्रतिबद्धताहरू, आचारसंहिता लगायतका विषय उल्लेख गरिएको छ ।
जसमा केन्द्रीय तहमा संयोजन समिति रहनेछ । उक्त समितिमा पार्टीका अध्यक्षसहित प्रत्येक पार्टीहरूबाट ७–७ जना सदस्य रहने बताइएको छ ।
समितिमा कम्तिमा २ जना महिला अनिवार्य गरिएको छ ।
