काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई नयाँ बाटोबाट लुकाएर विमानस्थलबाट बाहिर निकालिएको छ।
रविलाई नेपाल आयल निगमको बाटो हुँदै बाहिर निकालेर नख्खु पुर्याएपछि उनको स्वागतमा विमानस्थलमा भेला भएका रास्वपाका कार्यकर्ताहरू हेरेको हेर्यै भएका छन् ।
लामिछानेलाई सुरक्षित रूपमा स्थानान्तरण गर्न प्रशासनले उनीहरूलाई छक्याएर गोप्य मार्ग अपनाएको बुझिएको छ ।
पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई ललितपुरस्थित नख्खु कारागार पुर्याइएको छ ।
कारागार व्यवस्थापन विभागले हिजो गरेको निर्णय अनुसार लामिछानेलाई आज रुपन्देही कारागारबाट नख्खु सारिएको हो ।
बुद्ध एयरको विमानबाट उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नख्खु कारागार पुर्याइएको हो ।
रवि आउने भएपछि नख्खु कारागारमा पार्टीका सांसद, नेता तथा समर्थकहरूको भिड नै लागेको छ ।
उनीहरूले लामिछानेको पक्षमा प्रतिशोध भएको भन्दै नाराबाजी गरिरहेका छन् ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने गत चैत २५ देखि रुपन्देही कारगारमा थिए । उनले गत जेठमै नख्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए ।