सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले देशका प्रमुख राजनीतिक दलहरूले समाजवादको नारा खोक्रो बनाएको आरोप लगाएका छन् ।
शनिबार वीरेन्द्रनगरमा आयोजित ‘समाजवादका लागि नयाँ पुस्ता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो आरोप लगाएका हुन् । उनले वर्तमान दलहरू व्यवहारमा दलाल पुँजीवादलाई संरक्षण दिइरहेको र यसले युवालाई देश छाड्न बाध्य बनाइरहेको बताए ।
“भ्रष्टाचारी, तस्कर र मान्छे बेचेर खानेहरूसमेत समाजवादकै कुरा गर्ने अवस्थामा पुग्दा यो शब्द नै विकृत भएको छ,” विप्लवले भने, “प्रधानमन्त्रीदेखि मन्त्रीसम्म समाजवाद बोल्छन् तर व्यवहारमा देश दलाल पुँजीवादको चङ्गुलमा फसेको छ।”
उनले युवाहरूको ठूलो संख्यामा विदेश पलायनलाई वर्तमान राजनीतिको असफलताको प्रत्यक्ष परिणाम बताए।
“नेपालका युवालाई एयरपोर्टमै नाङ्गै बनाएर अपमान गरिन्छ, दिदीबहिनीहरू श्रम शोषणमा परेका छन्, अरबका अस्पतालहरूमा हजारौँ नेपाली युवाका लास अलपत्र छन्,” उनले भने, “यो व्यवस्था पात्र फेरेर बदलिँदैन, यो दलाल पुँजीवादको स्वरूपमै बदल्नु पर्छ।”