काठमाडौं । दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिस्रीले भ्रमणको पहिलो दिन नै उच्चस्तरीय भेटवार्ता सम्पन्न गरेका छन् ।
उनले परराष्ट्रमन्त्रीदेखि राष्ट्रपतिसम्म र विभिन्न दलका शीर्ष नेताहरुसँग आजै भेटवार्ता गरेका हुन् ।
आइतबार बिहान नेपाल आइपुगेका मिस्रीले प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पहिलो भेट गरे । प्रधानमन्त्रीसँग सिंहदरबारमा भेट गरेलगत्तै राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका मिस्री त्यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भेट्न देउवा निवास बुढानीलकण्ठ पुगे ।
पूर्वप्रधानमन्त्री समेत रहेका देउवालाई भेटेर मिस्री प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न प्रचण्ड निवास खुमलटार पुगेका थिए ।
विदेश सचिव मिस्रीले आजै परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग भेटघाट गरेका छन् । त्यसपछि परराष्ट्र सचिव अमृतबहादुर राईसँग दुई पक्षीय भेटवार्ता हुने र आइतबार नै मिस्रीको सम्मानमा सचिव राईले रात्रिभोज दिने बताइएको छ ।
भारतीय विदेश सचिव मिस्रीले प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको निमन्त्रणा पत्र प्रधानमन्त्री केपी ओलीलाई हस्तान्तरण गरेका छन् । सिंहदरबारमा भएको शिष्टाचार भेटपछि मिस्रीले प्रधानमन्त्री ओलीलाई निम्तो हस्तान्तरण गरेको प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।
प्रधानमन्त्री ओली भदौ ३१ गते भारत भ्रमणमा जाने लगभग निश्चित भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमण सकेर मिस्री सोमबार फर्कनेछन् ।