पाल्पा । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले युवाहरुलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जस्ता दलहरूको ‘भुलभुलैया’ मा नफस्न आग्रह गरेका छन्।
नेपाल पत्रकार महासंघ, पाल्पाले आइतबार तानसेनमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले रास्वपालाई ‘खहरे खोला’ को संज्ञा दिँदै यस्ता शक्तिहरूको टिकाउ क्षमता नहुने टिप्पणी गरे।
“यसपालि मनसुन ढिला सुरु भएकाले अहिले खहरे खोलाहरू बढेका छन्। तर मनसुन सकिएपछि त्यस्ता खहरेमा कमिला पनि कुद्दैनन्,” पौडेलले उदाहरण दिँदै भने, “राजनीतिमा पनि त्यस्तै खहरे देखिएका छन्, जसको आयु लामो हुँदैन।”
उनले विरोधको राजनीति र भ्रम सिर्जना गरेर जनतालाई अलमल पार्ने प्रयास भइरहेको दाबी गर्दै युवाहरुलाई स्थायी र दीर्घकालीन राजनीतिक यात्रामा लाग्न सुझाव दिए।