विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू अझै नेकपा एमालेकै कार्यकर्ता भएको बताएकी छन् ।
विराटनगर विमानस्थलमा आज पत्रकारहरूसँग कुराकानी गर्दै एमालेसँगको मेरो संगठनात्मक पहिचान कसैले खोस्न नसक्ने बताएकी हुन्।
भण्डारीले भनिन्- 'म नेकपा एमालेकै कार्यकर्ता हुँ । यस विषयमा धेरै छलफल गर्नु आवश्यक छैन । एमालेकै तर्फबाट राष्ट्रपति निर्वाचनमा भाग लिएर निर्वाचित भएकी हुँ। आज पनि म त्यही हुँ। पार्टीले औपचारिक रूपमा के निर्णय गरेको छ, मलाई थाहा छैन, तर मेरो संगठनात्मक पहिचान एमालेकै हो।'
भण्डारीले पार्टीले कुनै भूमिका नदिए पनि आफू एमालेको संगठित सदस्य भएको बताइन् ।
उनले भनिन्- 'राजतन्त्र र गणतन्त्र फरक व्यवस्था हो । राजा व्यक्ति हो । राष्ट्रपति एउटा पद हो । आवधिक हुन्छ । जो सुकै जनताको छोरा निर्वाचित भएर राष्ट्रपति बन्न सक्छन् । उनीहरू कार्यकाल सकिएपछि आफ्नो काममा फर्कन सक्छन्।'
राजतन्त्र र गणतन्त्रबीचको तुलनात्मक प्रश्नमा उनले राजा भनेको व्यक्ति भएको तर राष्ट्रपति पद भएको तर्क गरिन्।
उनले भनिन् -'४५ वर्ष भयो नेकपा एमालेको संगठित सदस्य भएको, विराटनगरमै मैले शपथ खाएको हुँ, मोरङ जिल्लामै, राष्ट्रपतिको कार्यकाल सकिएपछि पनि मैले सदस्यता नवीकरण गरेको छु। यो अधिकार कसैले खोस्न सक्दैन।'
पार्टीको निर्णयपछि आफू राष्ट्रपति बनेको भन्दै उनले कार्यकाल सकिएपछि पुनः पार्टीको राजनीतिमा फर्किएको बताइन् ।