काठमाडौं । राजतन्त्र फर्काउनका लागि लडेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन्।
सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले आफूलाई राजनीतिक चेत बोकेको व्यवसायी भएको भन्दै परिवार र आफूभन्दा नेपाल र नेपाली प्राथमिकतामा रहेको बताए।
राजनीतिले बिगारेको अवस्था सुधार्न आफू र अभियानका साथीहरूले दल खोल्ने अठोट गरेको उनको भनाइ छ। उनले चाँडै दलको नाम घोषणा गर्ने पनि बताए।
नयाँ दल खोल्न लागेको सूचना चुहिएपछि आफूलाई किन्न खोजिएको पनि उनले बताए ।
गत १५ चैत्रमा भएको राजावादीको तीनकुने आन्दोलनमा संलग्न भएको आरोप लागेका उनले आफूलाई भौतिक रूपमा नै सिध्याउन खोजेको बताउँदै उनले सोहीकारण आफू भागेको तर्क गरे ।
तीनकुनेमा भएको घटनामा आफूलाई ‘इन्काउन्टर’ मा मार्ने योजना रहेको खुलासा गरेका उनले आफूलाई मार्ने योजना छ भन्ने पूर्व जानकारी हुँदाहुँदै पनि समर्थकहरूको लागि कार्यक्रममा गएको दाबी गरे।
दुई साताअघि डिल्लीबजार कारागारबाट छुटेपछि पहिलोपटक सार्वजनिक रूपमा बोल्दै प्रसाईंले आफू आए सर्वसाधारणको दिन पनि आउने भन्दै त्यसपछि कोही बदमासहरू भाग्न नपाउने चेतावनी समेत दिए।
उनले भने–‘मलाई मार्ने योजना छ भन्ने मलाई त्यही दिन राति थाहा थियो। तर पनि म तपाईंहरूलाई भन्छु, म नभनीकन गएँ, मैले भनेँ भने भोलि कोही आउँदैन। मलाई थाहा थियो ।’
गाडीको छतमा बसेर कार्यक्रमस्थलतर्फ जाँदै गर्दा तीनकुनेको ट्राफिक आइल्याण्डमा पुग्नेवित्तिकै मञ्चको पछाडिको घरबाट आफूमाथि गोली प्रहार भएको दावी गर्दै उनले त्यसपछि आफू छतबाट हाम्फालेको र ड्राइभरलाई निकालेर आफैले गाडी चलाएको बताए ।
करिब १० वर्षदेखि गाडी नचलाएको भए पनि त्यो दिन आफूले गाडी कुदाएर ज्यान जोगाएको र सिधै प्रहरीको गणभित्र छिरेको उनले बताए।
उक्त दिन कर्फ्यू लाग्नुअघि नै आफूले काठमाडौं छोडिसकेको पनि उनले बताए ।
पत्रकार सम्मेलनका क्रममा आफ्नो अभियान कसैको ऋण मिनाहा गर्न नभई देशको बेथितिविरुद्ध भएको दोहोऱ्याएका उनले आफूलाई सिध्याउने योजना राजनीतिक षड्यन्त्रको हिस्सा भएको आरोप लगाए।
मदन भण्डारी र राजा विरेन्द्र शाहको उदाहरण दिंदै उनले भने–‘भण्डारीबाँचेको भए अरूको चान्स आउँदैनथ्यो, राजा वीरेन्द्रलाई नमारेको भए यो देशमा धर्म निरपेक्ष बनाउन पाइँदैनथ्यो । त्यसैले उनीहरुलाई मारियो ।’