जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालले गौर घटनामा सर्वोच्च अदालतले दिएको परमादेशविरुद्ध मधेश प्रदेशभर आन्दोलन गर्ने घोषणा गरेको छ ।
जसपा मधेश प्रदेश समितिका अध्यक्ष बालकिशोर यादवले आठै जिल्लामा जिल्ला सदरमुकाममा टायर बालेर विरोध प्रदर्शन गर्ने कार्यक्रम सार्वजनिक गरेका हुन् । उनले सर्वोच्च अदालतको अन्यायपूर्ण परमादेशविरुद्ध सडकमा उत्रिएको बताए ।
सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासले १८ वर्षअघि भएको गौर हत्याकाण्डको अनुसन्धान अघि बढाउन सोमबार परमादेश दिएको थियो ।
२०६३ साल चैत ७ गते रौतहटको गौरमा मधेसी जनअधिकार फोरम र माओवादीबीच कार्यक्रम गर्ने विषयमा भएको झडपमा २८ जना माओवादी कार्यकर्ताको ज्यान गएको थियो ।
सो घटनाको अहिलेसम्म अनुसन्धान अगाडि नबढेको अवस्थामा सर्वोच्चको आदेश आएपछि जसपाले सडक आन्दोलन गर्ने निर्णय गरेको हो।