एजेन्सी । मध्य युक्रेनको पोल्टाभा क्षेत्रको औद्योगिक शहर क्रेमेनचुकमा रुसले सोमबार राति शक्तिशाली आक्रमण गरेको छ ।
क्रेमेनचुकका मेयर भिटाली मालेत्स्कीका अनुसार आक्रमणले तेल प्रशोधन केन्द्र र यातायात पूर्वाधारलाई लक्षित गरेको थियो । उनले टेलिग्राममार्फत भिडियो सन्देश जारी गर्दै नागरिकलाई सतर्क रहन आग्रह गर्दै भने, “धेरै बमहरू अझै अविष्फोटित अवस्थामा छन्, जोखिम उच्च छ।”
क्रेमेनचुकमा युक्रेनको सबैभन्दा ठूलो तेल प्रशोधन कारखाना रहेको छ, जसलाई पछिल्ला महिनाहरूमा बारम्बार रूसी आक्रमणको निशाना बनाइँदै आएको छ।
यसैबीच, युक्रेनी सुरक्षा एजेन्सीले लुहान्स्क क्षेत्रको एक गाउँ नजिकै दुईवटा ठूलो हतियार डिपोमा सफल आक्रमण गरेको दाबी गरेको छ।
अर्कोतर्फ, उत्तरी शहर चेर्निहिभमा मंगलबार बिहान भएको रूसी ड्रोन आक्रमणपछि करिब ३० हजार घरधुरी अन्धकारमा डुबेका छन्।