काठमाडौं । संघीय निजामती सेवा विधेयक, २०८० राष्ट्रिय सभाबाट पनि पारित भएको छ ।
कुलिङ अफ पिरियड (विश्राम अवधि) मा भएको छेडखानी सच्याउँदै राष्ट्रिय सभाले सर्वसम्मत विधेयक पारित गरेको हो । प्रतिनिधिसभाले १५ असारमा विधेयक पारित गरेर सन्देशसहित राष्ट्रिय सभा पठाएको थियो ।
दुई वर्ष कुलिङ पिरियड राख्न राज्य व्यवस्था समितिमा भएको सहमतिमा छेडखानी गर्दै विधेयकको अन्तिम मस्यौदामा अवकाश वा राजीनामा दिएका कर्मचारीले तत्काल नियुक्ति खान पाउने व्यवस्था घुसाएर राष्ट्रिय सभामा पठाइएको थियो ।
उक्त विषय सच्याएर कुलिङ पिरियड दुई वर्ष नै कायम गर्दै राष्ट्रिय सभाले विधेयक पारित गरेको हो । अब राष्ट्रिय सभाबाट पारित विधेयक सन्देशसहित प्रतिनिधि सभामा पठाइने छ।
प्रतिनिधि सभाले राष्ट्रिय सभाबाट सन्देशसहित आएको विधेयकलाई पारित गरेपछि राष्ट्रपतिले प्रमाणीकरण गर्ने छन्।