काठमाडौं । सशस्त्र प्रहरी बलको लत्ताकपडादेखि जुत्तालगायतको सामान ठेक्का सेटिङमा निश्चित ठेकेदारहरुलाई भागबण्डामा दिनेगरी टुंग्याइसकिएको छ ।
सशस्त्र प्रहरी बलले चालु आर्थिक बर्षका लागि करिब ५० करोडबराबरको सामान खरिदका लागि गएको साउन १४ गते टेण्डर सूचना निकालेको थियो ।
जसमा चुस्ता, कटन सटपाइन्टदेखि सबै खाले जुत्ता र रुकस्याक ब्यागसहित १४ किसिमका सामानको ठेक्का निश्चित ठेकेदारलाई सेटिङमा दिन लागिएको खुलेको छ ।
नेपाल प्रहरीको बन्दोबस्तीका सामानको ठेक्का कब्जा गर्दै आएका ज्ञानेन्द्र बस्नेत, श्रवण अग्रवाल र टोपेन्द्र बीसीकै समूहले सशस्त्रको करिब ९० प्रतिशत ठेक्का सेटिङमा पाउने निश्चित भएको स्रोतले वतायो ।
सशस्त्र प्रहरीको प्रबन्धले टेण्डर निकाल्नुअघि अपारदर्शी रुपमा केही सामानको नमूना (स्पेसिफिकेसन) परिवर्तन गरी प्रतिस्पर्धा नै हुन नदिएको आरोप छ ।
ठेकेदारहरु ज्ञानेन्द्र बस्नेत, टोपेन्द्र बीसी र श्रवण अग्रवालहरुको सल्लाह र सेटिङमा कटन सट–पाइन्टको कपडा, बुट, स्पोर्ट सुज, टप बुटलगायतका सामानको (स्पेसिफिकेसन)का आधार परिवर्तन गरिएको थियो ।
सूचना निकालेर नमूना परिवर्तन गर्नुपर्ने कानूनी ब्यवस्था छ । तर, यो ब्यवस्थाबिपरीत टेण्डर सूचना निकाल्नुअघि निश्चित ठेकेदारको नमूनासँग मिल्नेगरी सुटुक्क परिवर्तन गर्दा जुत्तामा कसैले पनि बोलपत्र पेश गर्ने मौका पाएनन् ।
डीएमएस बुट, अफिसर्स बुट, स्पोर्टस्, हिमाली बुटसहितका सबै जुत्ताको ठेक्का बस्नेतको कम्पनी जय सलिनाले पाउँदैछ । कटन सर्टको कपडाको ठेक्काको ठेक्का पनि बस्नेतकै कम्पनी जय सलिनाले नै पाउने भएको छ ।
ज्ञानेन्द्र बस्नेत, टोपेन्द्र बीसी र श्रवण अग्रवालहरुको सल्लाह र सेटिङमा कटन सट–पाइन्टको कपडा, बुट, स्पोर्ट सुज, टप बुटलगायतका सामानको स्पेसिफिकेसनका आधार परिवर्तन गरिएकाले ठेक्का पनि उनीहरुले नै पाउने भएका छन् ।
सशस्त्रको चुस्ताको ठेक्का श्रवण अग्रवाल, टोपेन्द्र बीसी र बीरेन्द्र जोशीले पाउने भएका छन् । क्यामुफ्ल्यागका अग्रवाल, तेजसमका बीसी र प्लस पइन्टका बीरेन्द्र जोशीले चुस्ताको ठेक्का मिलेर हालेका थिए । यद्यपि बीएसएस गार्मेन्टका बिष्णुकुमार श्रेष्ठले पनि चुस्तामा टेण्डर भने हालेका छन् ।
कटन पाइन्टको कपडा मित्र लामाको समूहलाई दिने गरी सेटिङ भएको स्रोतको दावी छ । पन्चु एसके ट्रेडर्सलाई दिने गरी सेटिङ मिलाइएको छ । ट्याक्टीकल भेष्ट बीरेन्द्र जोशीको प्लस पइन्ट र स्लीपीङ ब्यागको काम टोपेन्द्र बीसीको तेजसमलाई दिनेगरी सेटिङ भइसकेको छ ।
कटन सर्टको ठेक्का मित्र लामाको समूहले पाउने भएको छ । अहिले लामा भने ज्ञानेन्द्र बस्नेतका निकट बनेका छन् । ब्यारेट क्याप एशियन इन्टरनेशनलले पाउने र सबै ज्ञानेन्द्रले एक्लौटी कब्जा गरेका छन् ।
सशस्त्र प्रहरी बलका आइजीपी राजु अर्यालको कार्यकाल ७ महिना बाँकी छ । सशस्त्रको बन्दोबस्तीका सामान खरिद गर्ने प्रबन्धमा २ कार्यकाल बिताएका र सबै ठेकेदारसँग सेटिङ भएका लुम्बिनी प्रदेशका डीआईजी दीपेन्द्र कुँवरकै जोडबलमा विकास घिमिरे प्रबन्धमा ल्याइएका थिए ।
गृहसचिव गोकर्णमणि दवाडी र आइजीपी अर्यालले एसएसपी राजेन्द्र खड्कालाई प्रबन्धमा ल्याउन खोज्दा कुँवरले गृहमन्त्री रमेश लेखक लगाएर रोकेका थिए । र, आफ्ना एसम्यान घिमिरेलाई ल्याउन सफल भएका थिए ।
बोलपत्रको सूचना निकालिएपछि कुँवरले बारम्बार काठमाडौं आउँदै ठेकेदारहरुसँग एसएसपी घिमिरेको मिटिङ गराउँदै आएका थिए । परिवार भेट्न आउन नपाउने भन्दैआएका डीआईजी कुँवरले हरेक पटक ठेकेदार ज्ञानेन्द्र बस्नेत र टोपेन्द्र बीसीसँग भेट्ने गर्नुले पनि सशस्त्रका ठेक्कामा उनको हस्तक्षेप पुष्टि गर्ने स्रोत बताउँछ ।