सुनसरी । सुनसरीको झुम्का कारागारमा फेरि एक जना बन्दीको मृत्यु भएको छ । ज्वरोले बिरामी भएका सप्तरी राजविराज वडा नं. ८ घर भएका ४६ वर्षे जलेश्वर यादवको बुधबार साँझ मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार ज्वरोले गर्दा जिल्ला अस्पतालमा भर्ना गरिएका जलेश्वरको पछि श्वासप्रश्वासमा समस्या भएपछि उपचारकै क्रममा मृत्यु भएको छ ।
जेल प्रशासनका अनुसार यादवलाई बुधबार ५ः३० बजे अस्पताल लगिएको थियो । त्यसपछि उपचारकै क्रममा मृत्यु भएको बताइएको छ । मृतक यादव जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका थिए ।
झुम्का कारागारका कैदीबन्दीमध्ये सिकिस्त १३ जना उच्च ज्वरोका बिरामीलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको कारागार प्रशासनले जनाएको छ ।
पछिल्लो एक साताको अवधिमा झुम्का कारागारमा तीन जनाको कैदीबन्दीको मृत्यु भइसकेको छ ।