काठमाडौं । ३२ औं नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले सांगठनिक सुदृढीकरणका लागि सबै प्रहरी कर्मचारीहरूले भातृत्वभावका साथ आ–आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने बताएका छन् ।
बिहीबार प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
संगठनको दीर्धकालीन श्रीवृद्धि, व्यावसायिकता लागि नेतृत्व तहदेखि तल्लो तह सम्मका कर्मचारीहरूमा सकारात्मक सोच, सक्रियता र उत्तरदायित्व आवश्यक रहेको उनले बताए ।
प्रहरी महानिरीक्षक खापुङ्गले फौजदारी न्याय प्रणालीको प्रमुख अंगको रूपमा नेपाल प्रहरीले देशव्यापी संजालमार्फत अपराधको रोकथाम, नियन्त्रण र अनुसन्धानका साथै शान्ति सुरक्षा, ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापन लगायतका क्रियाकलापहरूमा राज्यको पहिलो प्रतिनिधिको रूपमा उपस्थिति देखाइ आफ्नो जिम्मेवारी निर्वाह गर्दै आइरहेको उल्लेख गरे ।
प्रहरी महानिरीक्षक खापुङ्गले सामाजिक सञ्जालमा देखिएका आवाञ्छित गतिविधिहरू, वित्तीय अपराध, साइबर अपराध, लागूऔषध, मानव बेचबिखन, आर्थिक अपराध जस्ता जटिल र संगठित अपराधहरूको अनुसन्धानमा अझ संवेदनशील, विवेकशील र कानूनी रूपमा प्रभावकारी ढंगले प्रस्तुत हुनुपर्ने उल्लेख गर्दै यसका लागि दक्ष जनशक्तिको विकास, प्रशिक्षण तथा प्रविधिको व्यवस्थापन आफ्नो प्राथमिकता रहेको बताए ।
प्रहरी महानिरीक्षक खापुङ्गले राष्ट्र र नागरिक सेवामा आफ्नो निजि स्वार्थ र व्यक्तिगत लाभ भन्दा माथि उठेर जिम्मेवारी निर्वाह गर्नु प्रहरी सेवाको मुल मर्म भएको र संगठनले निर्दिष्ट गरेको अनुशासन र व्यावसायिक प्रहरी कर्मचारीको मर्यादाको सीमाभित्र रहेर आफ्नो जिम्मेवारी निर्वाह गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए ।