काठमाडौं । कोकिन कारोबारी गिरोहका मुख्य आरोपीलाई नै सरकारी वकिल कार्यालयले जोगाएपछि प्रहरी असन्तुष्ट बनेको छ ।
करिब ७५ ग्राम कोकिनसहित पक्राउ परेको गिरोहका नाइकेका रुपमा प्रहरीले मुद्दा चलाउन सिफारिस गरेका विजय कार्की र श्रीयान्स एडुकियालाई जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले रहस्यमय रुपमा मुद्दा नचलाउने निर्णय गरेको हो ।
यसमा ठूलो चलखेलको आरोप लागेको छ । किनकी सरकारी वकिलले फरार रहेका आरोपीलाई समेत मुद्दाबाट उन्मुक्ति दिएको छ । प्रमाण पर्याप्त भएको तर आरोपी फरार रहेको अवस्थामा यसरी मुद्दा नचलाउने निर्णय भएको घटना बिरलै रहेको सरकारी वकिल समेत बताउँछन् । ‘
प्रहरीको मालीगाउँ वृत्तले गत २० असारमा नक्सालस्थित भगवती इन होटलमा छापा हानेर कोकिनसहित पाँच जनालाई पक्राउ गरी अनुसन्धान बढाउँदा काठमाडौंमा कोकिन बिक्रि गर्ने गिरोहमा नाइकेका रुपमा कार्की र एडुकियाको नाम आएको थियो ।
त्यसका पर्याप्त प्रमाणसहित प्रहरीले सात जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो । जसमध्ये पाँच जनालाई मात्र सरकारी वकिलले मुद्दा चलाउने निर्णय गरेको हो ।
पक्राउ परेकामध्ये दिनेश चालिसे, गोमा श्रेष्ठ र सुव्रत अधिकारी धरौटीमा छुटेका छन् भने प्रकाश यादब र सत्येन्द्र प्रकाश भट्ट भने जेल चलान भएका छन् ।
प्रहरीको बयानको क्रममा सुब्रतले यादब र एडुकियाको नाम लिएका हुन्। सुब्रत पक्राउ परेलगत्तै कार्की र अडुकिया भागेका थिए । कार्कीलाई प्रहरीले पछि पक्राउ गरेपनि एडुकिया भने अझै फरार नै छन् ।
कार्कीसँग लागुऔषध बरामद नभएपनि अधिकारीको बयान र उनको शंकास्पद आर्थिक लेनदेन आधारमा उनी कारोबारमा संलग्न देखिन्छन् । उनको पुतलीसडकमा मदिरा पसल छ ।
सोही पसलको आवरणमा उनले कोकिन बेच्दै आएका छन् । मदिराकै बोतलमा राखेर उनले कोकिन बेच्दै आएको प्रहरी स्रोत बताउँछ । उनलाई भारतबाट अडुकियाले कोकिन ल्याएर दिने गर्दथे ।
लागुऔषध नियन्त्रण ब्यूरोले समेत यी दुवै जनालाई वाचलिष्टमा राखेको थियो । त्यस्ता व्यक्तिलाई सरकारी वकिलले जोगाएपछि प्रश्न उठेको हो । यस विषयमा प्रहरीले महान्यायाधिवक्ता कार्यालयमा उजुरी गर्ने तयारी गरेको छ ।