काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेनजी आन्दोलनले ल्याएको नयाँ राजनीतिक यथार्थलाई स्वीकार गर्दै पार्टीभित्र आमूल सुधारका लागि आफू महामन्त्री पद त्याग्न तयार रहेको घोषणा गरेका छन् ।
सोमबार सामाजिक सञ्जालमार्फत कार्यकर्तालाई सम्बोधन गर्दै उनले ६ बुँदे प्रस्ताव सार्वजनिक गर्दै पार्टीको सदस्यता, संगठन संरचना, नेतृत्व छनोट प्रक्रिया र मुद्दाहरूमा व्यापक सुधार अनिवार्य भएको स्पष्ट पारे ।
थापाले अन्तरिम सरकार गठन र संसद विघटनको प्रक्रिया संविधानसम्मत नभए पनि यो वर्तमानको राजनीतिक वास्तविकता भएको स्वीकार गर्दै भने, 'एउटा जिम्मेवार लोकतान्त्रिक पार्टी भएको नाताले निर्वाचन सुनिश्चित गर्न सरकारलाई सहयोग गरौँ। तर, सरकार मूल जिम्मेवारीबाट विचलित भयो वा अलमलियो भने खबरदारी गर्न कांग्रेस तयार रहनुपर्छ।'
महामन्त्री थापाले पार्टी पुनर्गठन अब ढिला गर्न नसकिने कार्यसूची भएको उल्लेख गर्दै भने, 'हामीले अहिले जे र जसरी गरिरहेका छौँ, त्यसैको निरन्तरताले मात्र पार्टीको पुनर्निर्माण सम्भव छैन। आमूल सुधारका लागि पदीय जिम्मेवारी त्यागेर नयाँ जोखिम लिनुपर्छ। त्यसका लागि म सहर्ष महामन्त्री पद छोड्न तयार छु।'
उनले पार्टीभित्र यसबारे गम्भीर छलफल सुरु गर्न आग्रह गर्दै भदौ २३ गतेको राज्य दमन र २४ गतेको विध्वंश दुवैको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न निरन्तर दबाब दिनुपर्नेमा जोड दिए।
प्रदेश र स्थानीय तहमा क्षतिग्रस्त संरचनाको तत्काल पुनर्निर्माण र नागरिक सेवा प्रवाहमा कमी हुन नदिन पनि उनले पार्टीका सबै तहलाई सक्रिय हुन आह्वान गरे।