काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वमन्त्री सुदन किरातीले पार्टी नेतृत्वलाई कडा सन्देश दिँदै अग्रज पुस्ताले स्वेच्छाले जिम्मेवारी नत्यागे नयाँ पुस्ताले विद्रोह गर्न बाध्य हुने चेतावनी दिएका छन् ।
जेनजी आन्दोलनपछि सबै प्रमुख दलमा नेतृत्व परिवर्तनको माग तीव्र भइरहेका बेला किरातीले सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गरेका हुन् । उनले वर्तमान राजनीतिक नेतृत्व पुस्ताले अब जिम्मेवारी हस्तान्तरण गरेर केवल “अभिभावकको भूमिका” लिनुपर्नेमा जोड दिए।
किरातीले लेखेका छन्, “इतिहासमा योगदान गर्नुभएका अग्रज नेताहरूले सम्मानित रहिराख्न र पार्टीको साख जोगाउन जिम्मेवारी परित्याग गर्नु उचित हुन्छ। त्यस्तो नगरे हाम्रो पुस्ताले उहाँहरूविरुद्ध विद्रोह गर्न बाध्य हुनेछ। नत्र जनताले नै हामीलाई बहिष्कार गर्ने छन्।”
उनको अभिव्यक्तिलाई माओवादीभित्र नयाँ पुस्ता सक्रिय नेतृत्वमा आउनुपर्ने मागको स्पष्ट संकेतका रूपमा लिइएको छ ।