काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पहिलो पटक सार्वजनिक भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टी कार्यालय नयाँ र भव्य बनाउने घोषणा गरेका छन् ।
जेनजी आन्दोलनका क्रममा खण्डहर बनेको आफ्नो पार्टी कार्यालय अवलोकन गर्न पेरिसडाँडा पुगेका उनले यस्तो घोषणा गरेका हुन् । उनले पार्टी कार्यालय बनाउने काम आफैबाट शुरु गर्ने भन्दै बेल्चा समाएर एकैछिन काम पनि गरे ।
यद्यपी पार्टीका नेता कार्यकर्ताहरु भने हिजै देखि कार्यालयको सरसफाइमा लागिसकेका थिए ।
मंगलबार उनले आगजी भएको पेरिसडाँडास्थित माओवादी केन्द्रीय कार्यालयको अवलोकन गरेका हुन्।
कार्यालयमा पुगेका उनले कार्यालयमै रहेको सहिद स्मारकमा जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरुप्रति श्रद्धान्जली व्यक्त गरे। साथमा माओवादी केन्द्रका अन्य नेताहरू पनि पेरिसडाँडा पुगेका थिए।

जेनजी युवा आन्दोलनको क्रममा माओवादी केन्द्रीय कार्यालयमा आगजनी भएको थियो । आन्दोलन हिंसात्मक बनेपछि प्रचण्डसहितका नेताहरुलाई नेपाली सेनाले ब्यारेकमा सुरक्षा दिएर राखिएको थियो ।
कार्यालय हेरेपछि प्रचण्डले अब आफ्नै बलबुतामा नयाँ भव्य पार्टी कार्यालय निर्माण गर्ने घोषणा गरे। जेनजी आन्दोलनका क्रममा सुरक्षित स्थानमा रहेका प्रचण्ड आठ दिनपछि सार्वजनिक भएका हुन् ।
पार्टी कार्यालय कहाँ बनाउने भन्ने कुरा उनले खुलाएनन् । अवलोकनपछि दाहालले पार्टी बैठकका माइन्युट, पुस्तकालय र केही कम्प्युटर जोगिएको बताए । ती सामग्री जोगाउन भूमिका खेलेको भन्दै उनले कर्मचारी र कार्यकर्तालाई धन्यवाद दिए ।
जेनजीका नाममा प्रचण्ड बस्दै आएको खुमलटारस्थित निवास पनि जलाएर ध्वस्त बनाइएको छ । यद्यपि उक्त निवास निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीको हो । उता चितवनमा नवनिर्मित निवास पनि जेनजीका नाममा भएको प्रदर्शनमा आन्दोलनकारीहरुले जलाएर खरानी बनाएका छन् ।