काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई तीन दिनभित्र भक्तपुरस्थित निजी निवासमा प्रवेश गराउने तयारी भइरहेको बताएका छन् ।
जेनजी आन्दोलन चर्किएपछि भदौ २४ गतेदेखि ओली नेपाली सेनाको विशेष सुरक्षामा शिवपुरीमा बस्दै आएका छन् । कांग्रेस–एमाले गठबन्धन सरकार ढलेर नागरिक सरकार गठन भइसके पनि ओलीसहित शीर्ष नेताहरू घर फर्किने वातावरण अहिलेसम्म बनेको थिएन ।
तर, एमाले नेता बस्नेतले मंगलबार सामाजिक सञ्जालमार्फत अब ३ दिनभित्र अध्यक्ष ओलीलाई घरमा भव्य कार्यक्रमसहित भित्र्याइने दाबी गरेका हुन् ।
“हामी ३ दिनभित्र प्रधानमन्त्री केपी बालाई हजारौँ जनसमुदायको उपस्थितिमा भव्य र सानदार ढंगले गृहप्रवेश गराउँदैछौँ। यसका लागि सुरक्षा निकायसँग समन्वय र आवास व्यवस्थाको तयारी तीव्र गतिमा भइरहेको छ,” उनले लेखेका छन्।
ओलीको निवास भने जेन–जी प्रदर्शनकारीले भदौ २४ गते तोडफोड र आगजनी गरेका थिए । यद्यपि, एमाले नेतृत्वले व्यापक जनसहभागितासहितको गृहप्रवेश कार्यक्रममार्फत ओलीलाई पुनः घर फर्काउने तयारी गरेको हो ।