काठमाडौं । नेकपा एमालेले संविधान दिवसलाई विशेष र भव्य ढंगले मनाउने घोषणा गरेको छ ।
पार्टी महासचिव शंकर पोखरेलले मंगलबार जारी गरेको विज्ञप्तिमा वर्तमान संविधानलाई नेपाली जनताको ऐतिहासिक बलिदान र संघर्षको महान् उपलब्धि भन्दै यसको संरक्षण र स्थायित्वका लागि सबै तहका संगठनलाई सक्रिय रहन निर्देशन दिएका हुन् ।
एमालेले हालै २३ र २४ भदौमा भएका दुःखद घटनाले मुलुकमा राजनीतिक अस्थिरता बढाएको र संघीय लोकतान्त्रिक व्यवस्थाविरुद्ध षड्यन्त्र हुने संकेत देखिएको उल्लेख गर्दै संविधानको रक्षा नै लोकतान्त्रिक गणतन्त्र र राष्ट्रिय सार्वभौमिकताको आधारशिला भएको जनाएको छ।
पार्टीले असोज ३ गते संविधान दिवसलाई सबै प्रदेश र जिल्ला तहमा भव्यतापूर्वक मनाउन आह्वान गरेको छ। यसैबीच, काठमाडौं उपत्यकामा भने केन्द्रीय स्तरको विशेष कार्यक्रम पार्टी कार्यालय च्यासलमा आयोजना गरिने विज्ञप्तिमा स्पष्ट गरिएको छ।