काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठन गर्दा केही संवैधानिक व्यवस्थामा तलमाथि गर्ने बाध्यता आइलागे पनि अब आफू र सरकार संविधानभन्दा बाहिर नजाने बताएका छन् ।
राष्ट्रपतिले बिहीबार बिहान शीतल निवासमा नागरिक समाजका १४ जना प्रतिनिधिसँगको भेटमा कुरा गर्दै अब दलहरु र आन्दोलनकारीको सहमतिमा अघि बढ्ने विश्वास व्यक्त गरेका हुन् ।
राष्ट्रपति पौडेलले सरकारले आफूलाई शान्तिपूर्ण निर्वाचन गराउने विश्वास दिलाएको हुँदा समयमा निर्वाचन हुनेमा ढुक्क रहेको बताएका छन् । सो अवसरमा राष्ट्रपतिले संसद विघटन पहिले पनि प्रधानमन्त्री नियुक्ति पहिले भन्नेमा निकै गलफती परेको स्वीकार गरेका थिए । आफूले ‘म शहीद हुन तयार छु तर प्रधानमन्त्री नियुक्तिभन्दा पहिले प्रतिनिधि सभा विघटन गर्दिन’ भन्ने अडान लिएको समेत राष्ट्रपतिले सुनाए ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संसद विघटन पहिलो शर्त राखेपछि उनीबाट प्रस्तावित प्रधानमन्त्री कार्कीले पनि पहिले संसद विघटन भएपछि मात्र प्रधानमन्त्री नियुक्त हुने अडान लिएकी थिइन् । तर राष्ट्रपतिले शहीद हुन तयार रहेको अडान लिएपछि पहिले प्रधानमन्त्रीको नियुक्ति र त्यस लगत्तै उनको सिफारिसमा विघटन गरिएको थियो ।
राष्ट्रपति पौडेलले तत्कालीन परिस्थितिको बाध्यताले संविधानमा तलमाथि गर्नुपरे पनि अब प्रधानमन्त्रीको नेतृत्वको सरकारले संविधानको अक्षरशः पालना गर्ने विश्वास व्यक्त गरेका थिए ।
त्यस्तैनागरिक समाजका प्रतिनिधिहरूले राष्ट्रपति पौडेललाई सुझाव दिएका छन्।उनीहरूले प्रतिनिधि सभा विघटन भएको अवस्थामा राष्ट्रिय सभाको जिम्मेवारीपूर्ण परिचालनमा समेत जोड दिएका छन् ।
संक्रमणकाल र परिस्थितिको बाध्यताका नाममा संवैधानिक संरचनाहरूमाथि असंवैधानिक हस्तक्षेप हुन नदिन उनीहरूले राष्ट्रपतिलाई सचेत गराएका छन् ।
भेटमा भट्टराईसहित महेशकुमार मास्के, मल्ल के। सुन्दर, परशुराम तामाङ, रत्न संसार श्रेष्ठ, कुन्दन अर्याल, जगत देउता, कनकमणि दीक्षित, चण्डेश्वर श्रेष्ठ, राजेन्द्र महर्जन, गीता त्रिपाठी, बिन्दु शर्मा, शरद वन्त र सुशील प्याकुरेल सहभागी थिए ।