Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

देउवाको सचिवालयले भन्यो - 'अण्डर ग्राउण्ड ट्याङ्की' पानी भण्डारण गर्न हो, पैसा लुकाउन होइन

देउवाको सचिवालयले भन्यो - 'अण्डर ग्राउण्ड ट्याङ्की' पानी भण्डारण गर्न हो, पैसा लुकाउन होइन

बिहिवार , आश्विन २, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हालैको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

देउवाको निजी सचिवालयले बिहीबार जारी गरेको प्रेस वक्तव्यमा भदौ २४ गते बिहानैदेखि केही समूहले आतङ्क सिर्जना गर्दै राजनैतिक दलका कार्यालय र नेताहरूको निवासमा आक्रमण गरेको घटनाप्रति गम्भीर भत्सना गरिएको छ ।

सो क्रममा देउवा र उनकी धर्मपत्नी तथा कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवासहित परिवारलाई लक्षित गरी कांग्रेस सभापतिको निवासमा सांघातिक आक्रमण भएको उल्लेख छ ।

सचिवालयले घटनापछि सामाजिक सञ्जालमा फैलाइएका ‘देउवा निवासमा पैसा भेटिएको, जलेका नोट भेटिएको, पैसाको सुरूङ रहेको’ भन्ने समाचारहरू कपोकल्पित, अतिरञ्जित र भ्रामक भएको स्पष्ट गरेको छ । वक्तव्यमा भनिएको छ, “सामाजिक सञ्जालमा देखाइएका दृष्यहरू कपोकल्पित, अतिरञ्जित र दुसित मनसायले फैलाइएका भ्रामक समाचार हुन्, जसमा कुनै सत्यता छैन।”

देउवा सचिवालयले घरमा देखाइएको ‘अण्डर ग्राउण्ड ट्याङ्की’ वास्तवमा पानी ट्याङ्की भएको बताउँदै जनमानस भ्रमित गर्ने मनसायले प्रविधिको दुरुपयोग गरी विभिन्न समयका जलेका नोटका दृश्य जोडेर सम्पादित भिडियो र तस्वीरहरू यूट्यूब र सामाजिक सञ्जालमा प्रसारित गरिएको जनाएको छ।

वक्तव्यमा यस्ता अफवाहप्रति प्रष्ट प्रतिक्रिया दिँदै नेपाली जनता, कांग्रेस नेता–कार्यकर्ता तथा शुभेच्छुकलाई भ्रममा नपर्न आग्रह गरिएको छ।

स्वकीय सचिव भानु देउवाले जारी गरेको वक्तव्यमा भनिएको छ, 'यस्ता बदनाम गर्ने नियतले फैलाइएका भ्रामक सूचनाको पछि नलाग्न सबैसँग हार्दिक अनुरोध गर्दछु। जय नेपाल।'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077