काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलनपछिका घटनाक्रममा संसद् विघटन, संविधान खारेज र राष्ट्रपतिलाई हटाउनेसम्मको प्रयास भएको खुलासा गरेका छन् ।
संविधान दिवसको अवसरमा शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले यस्तो खुलासा गरेका हुन् ।
उनले भने, “इतिहासले, घटनाक्रमले र संयोगले मलाई फेरि यो प्रक्रियामा पनि कुनै न कुनै रूपले सहजीकरण गर्ने अवसर दियो। संसद् विघटन मात्रै होइन, संविधान खारेज गर्ने र राष्ट्रपतिलाई त्यो पदबाट हटाउन कस्ता कसरत भए भन्ने मैले नजिकबाट हेर्ने र बुझ्ने मौका पाएँ।”
उनका अनुसार संकट व्यवस्थापनका क्रममा उनले रातभर बसेर राष्ट्रपति रामचन्द्र पौडेल, सेनापति र विभिन्न दलका नेतासँग संवाद गरी अन्तरिम सरकार गठन गर्ने र संविधान जोगाउने पहल गरेका थिए।
राष्ट्रपति पौडेललाई अप्ठ्यारो परिस्थितिमा संविधान जोगाउन सफल भएकोमा बधाई दिँदै प्रचण्डले भने, 'संविधानलाई असफल बनाउन खोजिएको घडीमा राष्ट्रपतिले दृढतापूर्वक भूमिका निर्वाह गर्नुभयो।'