काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरुको आक्रमणबाट घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको टाउको पछाडी भाग र गर्धनमा ठूलो चोट लागेको छ ।
जेनजी आन्दोलनपछि भौतिकरुपमा पहिलो पटक आगजनीपछि ध्वस्त भएको केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले सभापति देउवा दम्पतीको स्वास्थ्य अवस्था बारे जानकारी गराएका हुन् ।
विश्वकर्माका अनुसार सभापति देउवाको टाउको र गर्धनमा चोट लागेको र १२ वटा टाँका लगाइएको छ।
भदौ २३ गते जेनजी प्रदर्शनका क्रममा बूढानीलकण्ठस्थित घरमै रहेका देउवा दम्पतीमाथि प्रदर्शनकारीले आक्रमण गरी घाइते बनाएका थिए।
केही समयपछि नेपाली सेनाले उद्धार गरी उनीहरूलाई शिवपुरी लगेर उपचारको व्यवस्था गरेको थियो।
बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले सभापति देउवा दम्पतीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी आएको बताए।
उनले भने–‘सभापतिज्यूले दिनुभएको जानकारीअनुसार टाउकोको पछाडीपट्टी गम्भीर चोट छ र त्यसमा करिब १२ वटा टाँका लगाइएको छ, त्योभन्दा तल गर्धनमा पनि चोट छ, दुवै चोट निको हुँदै गएको अवस्था छ, उहाँ सामान्य बोलचाल गर्नुहुन्छ, हिँड्नुहुन्छ । तर, उठ्दा चक्कर लाग्ने, बोल्दा असजिलो हुने देखिएकोले अझै केही दिन उपचारमै रहनुहुन्छ ।’
देउवा पत्नी आरजु राणा देउवाको पनि स्वास्थ्यमा सुधार आएको उनले बताए। विश्वकर्माका अनुसार हाल देउवा दम्पतीको उपचार सैनिक अस्पतालमा भइरहेको छ।