काठमाडौं । जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले नेकपा एमालेका नेता महेश बस्नेतले आफूसँग संवाद भएको र एमाले प्रवेशको इच्छा देखाएको भन्ने दाबीलाई असत्य र निराधार भनेका छन् ।
गुरुङ नेतृत्वको संस्था हामी नेपालले शनिबार विज्ञप्ति जारी गर्दै त्यस्ता भ्रमपूर्ण अभिव्यक्तिमा विश्वास नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, 'सुदन गुरुङले कहिल्यै महेश बस्नेतसँग कुरा गरेका छैनन्। यस्तो संवाद कहिल्यै भएको छैन र कहिल्यै हुने पनि छैन। हामी उनलाई चिन्दैनौँ, सम्मान गर्दैनौँ।'
गुरुङले बस्नेतलाई झुट नफैलाउन चेतावनी दिँदै भनेका छन्, 'संविधानले तपाईंलाई संरक्षण दिएको छ भन्ने अर्थ यो होइन कि तपाईं नैतिक रूपमा पनि सुरक्षित हुनुहुन्छ। इतिहास र जनता दुवैले तपाईंलाई जिम्मेवार ठहर गर्नेछन् ।'
उनले आफ्ना समर्थकलाई बनावटी दाबी र अफवाहबाट भ्रमित नहुन आग्रह गर्दै सचेत, सतर्क र एकताबद्ध रहन आह्वान गरेका छन् । गुरुङले स्पष्ट पारेका छन्, 'यो आन्दोलन जनताको हो, भ्रष्ट राजनीतिका लागि होइन। हामी सुरुदेखि नै जनताको पक्षमा उभिएका छौँ र सधैं उभिनेछौँ।'
महेश बस्नेतको गतिविधिलाई विज्ञप्तिमा “फोहोरी खेल, निर्लज्ज प्रयास र जनताप्रतिको धोका” भन्दै तीव्र आलोचना गरिएको छ। वक्तव्यमा भनिएको छ, 'हामी महेश बस्नेतलाई अस्वीकार गर्छौं। उनले गर्ने प्रत्येक झुट, प्रत्येक प्रपञ्च, प्रत्येक भ्रामक दाबीलाई हामी अस्वीकार गर्छौं।'
यसैबीच, सुदन गुरुङले बस्नेत आफूमाथि पछ्याइरहेको आशंका व्यक्त गरेका छन् भने बस्नेतले भने सार्वजनिक रूपमा गुरुङ एमालेमा प्रवेश गरे अचम्म नमान्नुपर्ने अभिव्यक्ति दिएका थिए। आफू कुनै राजनीतिक खेलमा सहभागी नहुने र सधैं आन्दोलन तथा जनताको पक्षमै रहने गुरुङको भनाइ छ ।