काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत आफ्नै पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग रिसाएका छन् ।
आज बिहान महाराजगञ्जस्थित जलेको घरमा पत्रकार सम्मेलन आयोजना गरेका महतले महामन्त्रीद्वय थापा र शर्माप्रति आक्रोश व्यक्त गरेका छन्।
महामन्त्रीद्वय थापा र शर्माले जेनजी आन्दोलनको सांघातीक आक्रमणमा परेका सभापति देउवाले पद छाड्नुपर्ने बताएपछि प्रवत्ता महत उनीहरुसँग रिसाएका हुन् ।
महतले भनेका छन्–‘सांघातिक आक्रमण परेर सभापति देउवा उपचाररत रहेको बेला नेतृत्व परिवर्तन गर्ने कुरा गर्नु आपत्तिजनक हो ।’
अभिभावकमाथि सांघातिक प्रहार हुँदा हामी उपचार पनि पूरा पर्खन सक्दैनौँ ? भन्दै प्रश्न गरेका उनले भनेका छन्–‘हाम्रो सभापति लोकतन्त्रको लामो लडाइँ लड्नुभयो, उहाँमाथि त्रासदीपूर्ण आक्रमण भयो। कतिपय जिम्मेवार साथीहरु आक्रमण भएको उपचार पूर्ण नभएको अवस्थामा पनि संवेदनशील हुन नसक्नु दुःखको कुरा हो।
आलो घाउ ठिक नहुँदै सुरु भएको बहसप्रति गम्भीर छौँ , अहिले एक हुने बेला हो। एक भएर कमिकमजोरी पनि हटाउने सकिँदैन र ? जुन बेलामा घाउ लागेको छ, घाउमा नुन छर्ने प्रवृत्ति गलत हो। । जुन साथीहरुले अहिले प्रश्न उठाउनुभएको छ। नेतृत्व परिवर्तनको कुरा गर्नुभएको छ। उहाँहरु सबैभन्दा नजिक हुनुहुन्थ्यो। उहाँहरुको उठबसलाई राम्रोसँग हेर्ने हो भने उहाँहरु नजिक हुनुहुन्थ्यो।’
पार्टीलाई मजबुद बनाउन एकजुट हुनुपर्ने भन्दै उनले भने–‘अभिभावकमाथि सांघातिक प्रहार हुँदा हामी उपचार पनि पूरा पर्खन सक्दैनौँ ? आकाश नै झरिहाल्छ ? नयाँ परिस्थितिबारे पार्टीमा गम्भीर छलफल गर्छौं।
कसरी घटना घट्यो ? मूल्यांकन गर्छौँ, सुधार पनि गर्छौँ । तर त्यसका लागि पनि नपर्खने ? कार्यसम्पादन समितिले गरेको आधिकारिक निर्णयभन्दा छुट्टै बहस थाल्ने ? यसरी हाम्रो पार्टीलाई मजबुत बन्दैन।’